देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जसपाका नयाँ मन्त्रीको सपथ अन्योलमा, समाजिक सञ्जालको बधाई उधारो

0

काठमाडौं – आइतबारको एकीकृत समाजवादीको बैठकले ६ महिना पूरा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। सोहि बैठकले नयाँ मन्त्री छान्ने जिम्मा समेत अध्यक्ष माधवकुमार नेपाललाई दिइएको थियो।

बैठक लगत्तै एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले आफूसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ मन्त्री बन्न लागेको र नयाँ मन्त्रीहरूको नाम अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको बताएका थिए।

आइतबार ढिलो भइसकेको र सार्वजनिक बिदा पनि भएकाले नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने आंकलन गरिएपनि सोमबार बिहान कार्यालय समय सुरू भइसक्दा पनि राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीको सपथको कुनै सुँइको नआएपछी समजिक सञ्जालमा बधाइखाइरहेका मन्त्रीहरुको प्रेसर बढ्दै गएको थियो।

सो बिषयमा बुझ्दा राष्ट्रपति कार्यालयका अधिकारीले प्रधानमन्त्री देउवाले मन्त्री नियुक्तिका लागि कुनै सिफारिस नपठाएको बताएका थिए भने प्रधानमन्त्री देउवाको सचिवालयले भने एकीकृत समाजवादीले मन्त्री फेर्न लागेको लिखित जानकारी नै नदिएको बताइदियो।

त्यहिकुराको टुङ्गोलाउन भनेर सोमबार बिहान सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्यो। उक्त बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारित नभएकाले अहिले मन्त्री फेर्न नहुने कुरा राखेपछी बहालवाला मन्त्रीहरुले लामो सास फेर्न पाए भने आसेपासेले घेरिएका र नयाँ दौरासुरुवाल वा सुटमा सजिएका माननियहरु रन्थनिएका थिए।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकअघि एकीकृत समाजवादीका विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ लगायतका मन्त्रीहरूको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर तत्कालकालागी बसिरहेको कुर्सिमा कायमै रहने आशिर्वाद प्राप्त गरेपछी सोमबार दिउँसो स्वास्थ्य मन्त्री खतिवडाले मन्त्री फेर्ने कुरा बजारको हल्ला मात्रै भएको टिप्पणी गर्न भ्याए।

‘बजेट सेसन चलिरहेको बेला बजेट पेश गरेको सरकार, बजेट पेश गर्ने मन्त्री फेर्ने कुरा विश्वमै नहुने कुरा हो। यहाँ कसरी हुन्छ? बजारको हल्ला बजारमै सकिएन र भन्या। कहीँ नभएको जात्रा हाँडीगाउँमा कसैले गर्छ र भन्या, गर्दैन नि,’ खतिवडाले भने।

आफूहरूले सोमबार बिहान प्रधानमन्त्री देउवालाई भेटेको कुरा भने स्विकार्दै उनले भने ‘दलीय व्यवस्थामा पार्टी कार्यालयमा मन्त्री जानु, प्रधानमन्त्रीलाई मन्त्रीले भेट्नु, राति बास बस्न घरमा जानु पनि कुनै न्युजको विषय हो र’ ?।

सोमबार दिनभरी मन्त्री हुन तम्तयार भएका एकीकृत समाजवादीका नेताहरूले भने गठबन्धन दलका नेताहरूका कारण तत्काल मन्त्री बन्न नपाएको बताएका गुनासो गरिरहँदा समाजिक सञ्जालमा बधाई भने आउनेक्रम चलिरहेको थियो।

अन्तत: मन्त्रीबन्नकालागी तम्तयार भएकाहरुको सपना तत्कालकालागी अधुरै भएको छ भने बधाई खानेक्रम पनि यो पटककालागी सामाजिक सञ्जालमै सिमित हुन पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार