देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जुम्ला सदरमुकामका खानेपानीको अभाव, दमकलमार्फत ओसारेर निर्वाह गर्दै नगरपालिका

0

(जुम्ला) – जुम्ला सदरमुकाम खलंगामा खानेपानी संकट भएपछि चन्दननाथ नगरपालिकाले दमकलमार्फत् तिला नदिको पानी ओसार्न थालेको छ । नगरपालिकाले तिला नदीको पानी दमकलमार्फत ओसारेर स्थानीयलाई वितरण गर्न थालेको नगरपालिका प्रमुख कान्तिका सेजुवालले जानकारी दिएकी छिन ।

नगर प्रमुख सेजुवालका अनुसार साताअघि ठिन्के–उर्थु सडक विस्तारको क्रममा डोजरले पाइप काटेपछि सदरमुकाम खलंगामा खानेपानी अभाव भएको हो । नगरपालिकाका १, २, ४, ५ र ६ नम्बर वडामा खानेपानीको चरम अभाव देखिएको हो ।

लकडाउनका कारण पाइप मर्मत गर्न समस्या देखिएपछि दमकलमार्फत पानी ओसारेर वितरण थालिएको नगरप्रमुख  सेजुवालले बताइन् । ‘अभाव भएपछि शुद्धिकरण गरी पानी उपभोग गर्न र पिउने पानी जगेडा राख्न अनुरोध गरेका छौं,’ उनले भनिन्, ‘तिला नदीको पानी पिउनयोग्य नभएकाले अन्य काममा प्रयोग गर्ने गरी वितरण थालिएको हो ।’

खानेपानी अभाव भएपछि आसपासका गाउँका धारामा पानी भर्नेको भीड लाग्न थालेको छ । स्थानीयबासी बिहानैदेखि राति अबेरसम्म आधादेखि एक घण्टा हिँडेर खानेपानी ओसार्न बाध्य छन् । नगरपालिकाका अनुसार दमकलमार्फत वितरण गरिएको पानी सरसफाइ गर्न, शौचालयमा प्रयोग गर्न र कपडा धुन प्रयोग गर्ने गरी वितरण गरिएको हो । नगरपालिकाले कृष्ण मन्दिर अगाडिबाट उपभोक्तालाई दमकलको पानी वितरणको व्यवस्था मिलाइएको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार