देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जेठमा स्थानीय निर्वाचन गर्ने सत्ता गठबन्धनको सहमति

0

काठमाडौं – सत्ता गठबन्धनका दलहरुले आगामी २०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिबार बिहानको बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए ।

त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको बैठकमा ०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको छ । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्छ,’ नेता श्रेष्ठले भने, ‘त्यसका लागि संविधान र ऐनमा आवश्यक संशोधन गर्ने र निर्वाचनको तयारी अघि बढाउने सहमति भएको छ ।’

यसअघि गठबन्धनले असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएको थियो । तर, शनिबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधिको ५ वर्षको हुने व्यवस्था गरेको छ । तर, ऐनको व्यवस्थाबमोजिम आगामी जेठ ५ गते स्थानीय तह जनप्रतिनिधिविहीन हुनेछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार