देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

झाँगिदै गएका व्यक्तिवादितालाई फर्केर हेर्ने कि ?

0
  • सुशीला शर्मा

प्राचिन समाजको बारेमा मोर्गन, टेलर,रिभर्स जस्ता मानवशास्त्री तथा समाजशास्त्रीहरुले आदिमदेखि बर्तमानसम्मको समाजको बारेमा व्याख्या गरेका छन् । उनीहरुका अनुसार आदिम समाज सानो,सरल र सामान्य थियो । विभिन्न ईतिहासकार,मानवशास्त्री तथा समाजशास्त्रीहरु मानव विकासका तीन प्रमुख चरणहरुलाई व्याख्या गर्दछन् । ती प्रमुख चरण भनेका शिकार गर्ने, जम्मा गर्ने समाज, कृषि समाज र औद्योगिक समाज । समाजका प्रमुख क्रान्ति,कृषि क्रान्ति र औद्योगिक क्रान्तिले मानव इतिहास तथा जीवन जिउने तरिकामा नै ठूलो बदलाव आएको कुरालाई नकार्न सकिदैन् ।

विश्व प्रसिद्ध दार्शनिक, अर्थशास्त्री, साम्यवादी समाजका परिकल्पनाकार कार्लमाक्र्स व्यक्तिगत या निजी सम्पति सुन्दर समाज निर्माणको बाधक हो भन्छन् । उनका अनुसार विना निजी सम्पतिको सामाजिक सम्बन्धले उत्पादनलाई समान वितरण गर्न सकिन्छ । माक्र्सका चिन्तन विश्वप्रसिद्ध र वैज्ञानिक भए पनि विश्व समाज भने पूँजीवादको चरम उपभोग गरिरहेको छ र मानिस मानिसबीच चरम वर्ग सम्बन्ध जन्मिरहेका छन् । मानिस यिनै धनसम्पतिकै प्रतिष्पर्धामा संघर्षरत छन् । समाजभित्र मानिसका सम्बन्धको सञ्जाल हुन्छ र यो संगठित हुन्छ । समाज एउटा औपचारिक संरचना पनि हो । उदाहरणको रुपमा समाजमा पारिवारिक एकाई,समुदाय,शहर,विद्यालय,महाविद्यालय,उद्योग,कलकारखाना हुँदै राष्ट्र राष्ट्रसम्म समेटिएको हुन्छ ।

आधुनिक समाजलाई विश्वलाइ ग्लोबल भिलेज बनाउने सूचना र सञ्चारको क्रान्तिलाई पनि भुल्न नहुने थुप्रै ईतिहासकार तथा समाजविदहरुको धारणा रही आएको छ ।
यसरी विभिन्न प्रगतिशिल चरणहरु पार गर्दै आएको समाजमा अझै पनि कयौं सामाजिक मुद्धाहरु वहसमै छन् । विश्वव्यापीकरण र पूँजिवादी व्यवस्थाभित्र कयौं विषयबस्तुहरु रुमल्लिईरहेका छन् । समाज र समुदायमा मिलेर बस्ने,समूहमा बस्ने, मानवीय व्यवहार गर्ने, बाँडेर,मिलेर खाने, सामूहिकताका चलनहरु विस्तारै हराउँदै गएका छन् । मान्छे स्वतन्त्रताको नाममा नितान्त व्यक्तिवादी हुँदै गएको छ । यसरी यस्ता व्यक्तिवादिता परिवारदेखि समाजसम्म पुगिरहेछ । मै खाउ,मै लाउ सब मोज मै गरुँ भन्ने व्यक्तिका महत्वाकाँक्षाले सिमा नाघिरहेछ । जतिजति पूँजीवादी विश्व व्यवस्थाले गति लिदै छ त्यति नै निम्न विकास भएका राष्ट्रहरु र त्यहाँका बासिन्दाहरुको जीवन,रहन सहन सन्तुलित नभएर निरासा र अविकासतर्फ नै लम्केको पनि देख्न सकिन्छ । मानिसलाई चाहना छ छिटो धनी बन्ने, युरोप अमेरिका जस्ता विकसित मुलुकमा अध्ययन गर्ने, मिले त्यतै व्यवस्थित हुने ।

अलिकति नेपाली समाजको कुरा
हाम्रो समाजको धेरैजसो व्यवस्था हिन्दु चलन अनुसार नै सञ्चालन भएको छ । प्रायः कुनै पनि मुद्धा उठाउदा हिन्दुत्व मिसिएको कुराहरु आउनु पनि स्वभाविक नै हो । जुन बेला समाजमा छुट्टै कानुन बनेको थिएन्, तिनै धर्म ग्रन्थहरु नै कानुनको रुपमा मानिएका थिए र आज पर्यन्त संसारले हजारौ फड्को मारिसक्दा पनि नेपाली समाज अझ भनौं हिन्दु संस्कृति भएका समाजमा कयौं मानवीय विभेद,अन्धविश्वासहरुले जरो गाडि नै रहेको छ । हजारौं वर्षको यात्रा तय गरेको हिन्दु धर्म र संस्कृतिका साहित्यहरु पनि विशाल र अध्ययन तथा विश्लेषण गर्नुपर्ने नै छ । यस लेखमा उल्लेख गर्न खोजिएको कुरा भनेको हामी मानवहरुमा समयक्रमसंगै देखिदै गएका व्यक्तिवादी आनिवानीबारे हो ।

परिवारकै विषयमा कुरा गर्दा महिला भात भान्सा, घरायसी कामकोे जिम्मेवारीमा छन भने परिवारका जेष्ठ पुरुषले आफ्ना अनुभवले सन्ततीहरुलाई निर्देशित गर्ने गर्दछन् । तिनै जेष्ठ नागरिकलाई परिवारको महत्वपूर्ण निर्णय लिन लगाईन्छ या कमसेकम जेष्ठ नागरिकलाई उभ्याएर महत्वपूर्ण कामकारवाहीहरु गरिन्छ । पुरुषहरु आर्थिक आम्दानीमा सक्रिय हुने गर्छन् । परिवारको सम्पति बाबुबाट स्वत ः छोरामा हस्तान्तरण हुने बाध्यकारी नियम जस्तै छ । छोरी विहे गरेर जाने भएपछि जन्मघरमा खासै छोरीको भूमिका कहिलेकाँही माईत आउने जानेमै सिमित छ । बर्तमान समयमा छोरीहरुले आफैं महसुस गरेर घर तथा माईती दुईतिरै सकेको सहयोग गरे पनि महिलाका यस्ता भूमिकालाई यो कर्तव्य र मानवीय भूमिका हो भनेर समाजले स्वीकार्दैन् । एक खालको डर,चिन्ता,संकुचित भावनाहरुले परिवारमा डेरा गरिरहेको पाईन्छ । परिवारका धेरै निर्णयहरु पुरुषले गर्ने गर्दछन् । विवाह आफैंमा वृहद सामाजिक र धार्मिक नियम या जिम्मेवारी भएको छ । विवाह दुई दम्पतिवीच मात्र सिमित नभएर परिवारका सम्पूर्ण सदस्य र नातागोतासंग जोडिएको हुन्छ । हिन्दु संस्कृतिकै समाजको कुरा गर्दा यहाँ जातपातका कुरा गहिरोसंग जरो गाडेका छन भने कतिपय सामाजिक समस्याका भूँइ तहदेखिका जराहरुले पनि समाज विकासमा ठूलो अवरोध गरिरहेकै छ ।

संयुक्त परिवारमा बस्ने परिवारका ठूलादेखि सानासम्मका रोलक्रमहरुसंग सोही अनुसारको भूमिका निभाउँदा महिलाहरु नै धेरै जसो सम्बन्धहरुको भूमरीहरुमा हेलिदै जाने गरेका त हामीले देख्दै आएकै हौं । यसो भन्नूको तात्पर्य परिवारका हरेक नातासंग समन्वय गर्दै र घरका कामधन्दा गर्नबाहेक, प्रजनन र बालबच्चा स्याहारका सम्पूर्ण जिम्मेवारीमा खरो उत्रिनुपर्ने चाँहि महिलाकै भागमा थिए र आजपर्यन्त पनि छ । यस्तै परिवारका व्यवस्थासंग व्यवस्थित हुँदै आएपछि महिलाको सासू, आमाजू, जेठानी लगायतको भूमिका परिवर्तन हुन्छ र उही संरचनात्मक मान्यतालाई पछ्याउँदै गर्दा महिला महिलाबीचमा एकखालको उचनिच तथा होचो अर्घेलोको व्यवहार भईरहेकै हुन्छ । कतिपय ठाउँमा यस्ता शीतयुद्धहरुलाई लुकाईन्छन भने कतिपय ठाउँमा सार्वजनिक पनि भईरहेकै हुन्छन् । प्रायः यस्तै सम्बन्धहरुलाई समाजले उखान जस्तै बनाउँछ कि महिलाको शत्रु महिला नै हुन्छन भनेर ।

समाज परिवर्तनशील छ र कतिपय सामाजिक संरचनाहरु परिवर्तन पनि भएका छन् । शिक्षा, आर्थिक अवस्थामा सुधार, जनचेतना, नयाँ आविष्कार र विकास तथा विश्वव्यापीकरणसंगै समाजका ईकाईहरुमध्ये पहिलो ईकाई परिवार पनि बहुलबाट एकलमा परिवर्तन हुँदैछन् ।
परिवारमै पनि भिन्न सदस्यको जीवन ज्यूने सम्बन्धमा भिन्न दृष्टिकोण हुन्छ र एकले अर्काको समस्या तथा भावना नबुझ्दा पारिवारिक किचलोहरु देखिईरहन सक्छ । व्यक्तिगत सम्पतिमा होडबाजी,अस्वस्थ प्रतिस्पर्धा,एकाँकी जीवनको चाहना र व्यक्तिवादी चिन्तन हावी हुँदै गईरहेछ बर्तमान समाजका मानिसहरुमा ।
वर्तमानमा बढ्दो व्यक्तिवादी भावना र व्यवहार मानसिक स्वास्थ्य अस्थिर भएको अवस्था बाहेक हाम्रो मन स्वार्थी बनाउने, मिजासिलो बनाउने, रिसाउने, झर्किने , घृणा गर्ने,एक्लै खाने या बस्ने, अन्य ब्यक्तिलाई मन नपराउने या कसैसंग लपक्कै हुने अनि कसैको छाँया पनि देख्न नचाहने , आफ्नो बाहेक अरुको ब्यहोरा देख्नै नचाहने यी सबै हामीले आफ्नै मनको आधारमा तय गरेका हुन्छौं । सकेसम्म त ब्यवहारिक, सहयोगी मिलनसार, विश्वासिलो जस्ता सकारात्मक उर्जा दिने ब्यवहारमै अघि बढ्दा जीवन ज्यून सजिलो हुन्छ । सकेसम्म एकले अर्कोलाई घोचपेच गर्ने, कमजोरीको आधारमा व्यङ्ग गर्ने, तल्लोस्तरको देखाउन खोज्ने, हेप्ने, कुरा काट्ने ,कसैलाई गलत तरिकाले बुझ्ने र हेर्ने दृष्टिकोण नै बनाउने र जिन्दगीभरी त्यही धारणा पालेर बस्ने आनीबानी पनि हामी र हाम्रो वरिपरि छ । हाम्रा राजनीतिक नेताहरुको गुटबन्दी, खेलहरु पनि यस्ता कुराका उदाहरणहरु हुन् ।

आशा निराशा, महत्वाकांक्षा , प्रतिष्पर्धा, चाहना यी कुराहरु मानिसमा प्राकृतिक हुन । तर हामी मध्येमै पैत्रिक या अरुको सम्पतिमा बढ्ता लोभ,आफ्नै कमाईमा पनि चाहिने भन्दा बढी लोभ, अरुको पाए जतिपनि खाईदिने या रित्याईदिन पाए पनि हुन्थ्यो जस्तो गर्ने, आफ्ना समस्यालाई पहाड बनाई तेस्र्याउने अनि अरुका समस्यालाई सुनेको नसुन्यै गर्ने । समस्याहरुबाट आफू पनि ग्रस्त भईरहने अनि अरुलाई पनि ग्रस्त बनाईरहने । आफूलाई पर्दा सहयोग लिने तथा अरुलाई त्यही समस्या पर्दा तर्किने र अनेक बहानाबाजी गर्ने, सहयोग गर्नै नखोज्ने। स्वतन्त्रताको नाममा स्वच्छन्दता खोज्ने, भन्नुपर्ने कुरा नभन्ने , नभन्नुपर्ने कुराहरु झिकेर बखेडा खडा गरिरहने । नियतवश कसैकोे घाउमा नुनचुक गरिदिने । आफूलाई नै सर्वेसर्वा ठान्ने यी र यस्ता आनीवानी र व्यवहार आजकल हामी मानिसहरुमा बढ्दै गईरहेको छ । यी समस्याहरु पारिवारिक तहदेखि अहिलेको अवस्थामा देशकै सञ्चालकहरुमा यो समस्या देखिन्छ ।

थाहा छैन यी सब केले भईरहेछ, हाम्रा ब्यस्त र असन्तुष्ट दिनचर्या, धेरै धनसम्पतिको चाहना ,तीब्र र अस्वस्थ प्रतिष्पर्धा,कम आम्दानी, बढ्दो महंगी,सहकर्मीहरुसंगको नमिल्दो तालमेल,मनमुटाव,झै झगडा आदि ईत्यादि बढ्दै गईरहेछ ।

भनिन्छ समाजमा रहेका आर्थिक,सामाजिक,विभेद र शोषण हटाई समतामूलक समाज बनाउन कार्य समाजबादी व्यवस्थामा हुन्छ । एकलौटी र व्यक्तिगत सम्पतिहरुमा निजि अधिकार नदिई उत्पादन र उपभोगमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनैतिक एजेण्डा बोकेर हिडेका अगुवाहरु नै व्यक्तिगत सम्पति , आफ्ना अरौटेभरौटेहर पोस्नतिर लागेका झै लाग्छ । त्यही व्यक्तिगत सम्पति र व्यक्तिगत स्वार्थ तथा लालसाले नै परिवार तथा समाजकै व्यक्तिहरुमा एकाँकीपन झाँगिदै गएको छ । व्यक्तिहरु नितान्त व्यक्तिवादी सोच र व्यवहार राखेर हिड्नुमा हाम्रो समाजको सानो इकाईदेखि नै कार्यात्मक प्रणाली, तथा पूँजीवादी र बजार व्यवस्था पनि कारक हुन गएको छ ।

बालबालिकाहरु,जेष्ठ नागरिकहरु परिवार र समाज अनि राष्ट्रले नै हेरविचार गरिनुपर्ने समुदाय हुन । तर बढी अवहेलित नै यिनै समुदाय भईरहेछन् । युवा समुदायहरु आफ्ना करियर बनाउनेतिर निकै नै ब्यस्त र अझ भनौ अस्तव्यस्त छन् ।
हुन त यहाँ स्थिरता छैन,परिवार समाज अनि देशलाई नै बाँधिराख्ने एउटा सवल मार्ग निर्देशन पनि त छैन् । भलै समाजवादी समाजको निर्माण गर्नुपर्छ भन्नेहरुको नेतृत्व चलेको भए पनि । समुन्नतीको लागि एकबद्ध हुने भन्दा पनि व्यक्तिपिच्छेका अवधारणाले मान्यता पाउनुपर्ने सोच झाँगिईरहेको छ । व्यक्तिवादिता निकै उकालो लागिरहेको अवस्था छ ।

सहयोगी हातहरु,मनकारी आत्माहरु हाम्रा समाजमा हुँदै नभएका पनि होईनन् । अप्ठ्यारामा परिरहेकाहरुलाई आफ्नो हैसियत अनुसार सहयोग गरिदिने , परिस्थितिलाई सहज बनाईदिने, आवाज उठाईदिने व्यक्ति र संस्था नै पनि हाम्रा टोल समाजमा छन् । तर यिनको संख्या थोरै भएर होला राम्रा काम अनि कुराहरुलाई निराशा, अविकास , ईष्र्या लोभ लालचले ढपक्कै छोपेको । मुख्य कुरो त हरेक समाजका नागरिकहरु आफैं सक्षम,विवेकशील,सचेत र जागरुक भए मात्र देश विकासको असली रुप देख्न पाईन्छ ।

कमसेकम यी माथि उल्लेख गरिएका आनिवानी व्यवहारहरुमा प्रतक्ष्य,अप्रतक्ष्य हामी सवैको कतै न कतै संलग्नता छ र यो संलग्नता मानवतावादी होईन भन्ने मन पनि हामीहरु मध्ये नै छ । त्यसैले मनलाई सकारात्मक जीवन डोर्याउने तर्फ लैजाऊँ आऔ हामी सहृदयी बन्न प्रेरित बनौ न कि बोझिलो र अमिलो । मिलेर बसौं, बाँडेर खाऔं मनका खिन्नताहरु सबै मिली मेटौं । हामीसंग समस्या छन भने समस्या समाधान गर्ने उपायहरु पनि छन, सहयोग दिने अनि लिने पनि गर्न सकेमा हाम्रा कतिपय दैनिक समस्याहरु समाधान हुँदै जानेछन् । आफ्नाहरुसंग साँच्चै सम्बन्ध मजबुत पारेर बाँचौं । समाजका साना साना ईकाईहरु जसको एक अर्कोसंग अस्तित्व छन । आशाहरु बाँडौं निराशाहरु छोडौं, आफ्नो लागि राम्रो गरौं अनि समाज राष्ट्रको बारेमा पनि सोचौं । एकअर्कासंग व्यवहार गर्दा मानवताले के भन्छ,विज्ञानले के भन्छ र आफ्नै विवेकले के भन्छ भन्ने सोचेर हेरौं । मान्छेमान्छेवीच समानता र न्यायको कसीलाई पनि नछोडौं । मानव अस्तित्व मिलेर बाँच्नुमै छ मान्छेसंग पनि र प्रकृतिसंग पनि । मान्छे मान्छेबीच बैमनस्य राखेर लड्न सक्छ तर प्रकृति र यसभित्र हुने बदलावहरु मानिसका बसमा छैनन् । व्यक्ति एक सर्वश्रेष्ठ र स्वतन्त्र प्राणी हो । उ आफ्नो मनका काम कुरा गर्न स्वतन्त्र छ तर यो भन्दैमा व्यक्ति समाज पनि हो र व्यक्ति प्रकृतिसंग,समाजका जीवित निर्जीव प्राणी र बस्तुसंग नमिलि सुखै पनि छैन् । यो कुरो भण्डै एकवर्षदेखि कोरोना भाईरसले मानिसको जीवनमा पारेको तहस नहसबाट पनि सिक्न सकिन्छ । मिलेर बाँच्ने, समानतामा हाँस्ने नियम र व्यवस्था नै सही मानेमा सबैलाई मान्य हुने व्यवस्था हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार