देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘डा. केसीसँग भएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर’

0

काठमाडौं – चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीसँग विगतमा भएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारसँग माग गरेको छ ।

डा. केसीसँग सरकारले विगतमा पटक पटक गरेका सम्झौता प्रति गम्भीर हुन आग्रह गर्दै अनशनरत डा केसीको जीवन रक्षाका लागि प्रयास गनै समेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै, आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारको लागि सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी भदौ २९ गते जुम्लाको चन्दननाथ नगरपालिका-६ स्थित बाबिरामष्ट मन्दिरमा आमरण अनशन सुरु गरेका थिए । हाल उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।

केसीको अवस्थाबारे कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय बागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघ लगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेको पनि आयोगले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु