देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ढुङ्गाको काप फोरेर उम्रिएको पिपल अर्थात गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट युवा नेता गगनकुमार थापा लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित भएका छन् । १३ औं महाविधेशनमा महामन्त्रीमै लडेका उनी यसपालि भने महाधिवेशन प्रतिनिधिको अपार माया पाउन सफल भएका छन् ।

योसँगै कांग्रेसमा युवाको प्रतिनिधित्व गर्दै थापा महामन्त्री बनेका छन् । उनीसँग युवाले मात्र नभइ पाका नेताहरुलेसमेत पनि धेरै अपेक्षा गरेका छन् । उनले नौ महिनामात्र स्वास्थ्य मन्त्री भएर कौशलसमेत देखाएका थिए ।

गगनको यस्तो छ राजनीतिक यात्रा
–२०४६ सालमा कक्षा ९ मा अध्ययन गर्दै गर्दा बाल कांग्रेसको सदस्यका रुपमा राजनीतिक यात्राको शुरुआत, २०४६ सालको जनआन्दोलनमा सहभागी ।
–    स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्त्र क्याम्पसको सदस्य २०५१, सचिव २०५३ र सभापति २०५५
–    २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य ।
– २०५७ नेपाल विद्यार्थी संघको उपाध्यक्ष र २०५९ नेपाल विद्यार्थी संघको महामन्त्री
(विद्यार्थी राजनीतिमा क्रियाशील रहँदा शिक्षा क्षेत्र सुधारका मुद्दा स्थापित गराउन र संयुक्त विद्यार्थी आन्दोलनमा अग्रणीनेतृत्व प्रदान)

राजनीतिक टर्निङ प्वाइन्ट
–तत्कालीन राजाको निरंकुश कदम विरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाई ।
–स्वतन्त्रताको लागि आन्दोलनको नेतृत्व गर्दैगर्दा २०६०–२०६१ मा राज्य विरुद्धको आरोपमा राजद्रोहको मुद्धा (जेलमै रहँदा एम्नेष्टि इन्टरनेशनलद्वारा ’आस्थाको बन्दी’को घोषणा (यो सम्मान शान्तिपूर्ण रुपमा आफ्नो आस्थाप्रकट गरेकै आधारमा बन्दी वनाइएका विश्वका प्रतिष्ठित राजनीतिज्ञलाई यस्तो वन्दी घोषणा गर्ने गर्छ। (थापा भन्दा अघि नेपालमा कृष्णप्रसाद भट्टराईजस्ता स्वतन्त्रताका योद्धाहरूलाई प्रदान गरिएको)
–२०६२–६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व प्रदान ।
–२०६२–६३ को जनआन्दोलनको मुख्य पात्र, जनआन्दोलनका एजेण्डा स्थापित गराउन, शान्तिपूर्ण रुपमा राजनीतिक परिवर्तनकालागि अग्रणी भूमिका ।
–२०६४ सालको संविधानसभा निर्वाचनमा देशभरी मुख्य चुनावी प्रचारक हुनुपर्ने भएकाले कुनै एउटा निर्वाचन क्षेत्रमा सिमित हुनु हुँदैन भनेर पार्टीले समानुपातिक उम्मेदवार बनाएको ।
– २०६४ मा समानुपातिकबाट संविधान सभा सदस्य निर्वाचित ।
–    देशैभरी माओवादी ज्यादतीका विरुद्ध सशक्त प्रतिवाद गर्ने कांग्रेस नेता ।
–    २०६७ सालमा भएको नेपाली काँग्रेसको महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य ।
–    २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौ क्षेत्र नं. ४ बाट अत्यधिक मतले निर्वाचित ।
–    निर्वाचनमा नेपाली काँग्रेसको मुख्य क्याम्पेनर, देशैभरी सवैभन्दा धेरै माग भएको वक्ता ।
–संविधानसभाभित्र संविधान मस्यौदा समितिको सदस्यको रुपमा संविधान निर्माणमा सशक्त र प्रभावकारी भूमिका ।
–    २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापतिको रुपमा कृषि, उर्जा, जलस्रोत लगायतका क्षेत्रमा नीतिगत पहल कदमी । (कृषि,विकास रणनीति, भू उपयोग नीति एकिकृत जलश्रोत नीति, जलउत्पन्न प्रकोप नियन्त्रण नीति, उर्जासुरक्षा नीति तयार गर्न महत्तोपूर्ण आधार दिएको, बुढीगण्डकी आयोजना नेपालले नै वनाउन सक्ने अवधारणा सहितकोविस्तृत खाका प्रदान) ।
–    २०७२ सालको कांग्रेसको महाधिवेसनमा महामन्त्री पदमा उम्मदेवार ।
–    २०७३ सालमा नौ महिना स्वास्थ्य मन्त्री ।
–    २०७४ सालमा प्रतिनिधिसभा सदस्य ।
–    २०७८ सालको मंसिरमा भएको कांग्रेसको महाधिवेशनमा महामन्त्री ।

संसदमा
–    २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसकाो समानुपातिकतर्फबाट  सभासद्
–    संविधानसभा मौलिक हक समितिको सदस्यको रुपमा संविधानमा जनताको हक अधिकार सुनिश्चित गर्न संविधानसभाभित्र सवैभन्दा सक्रिय सदस्यको रुपमा क्रियाशिल,
–    साथै २०६५ मा संसदको प्राकृतिक स्रोत समितिमा रहेर उर्जा उपसमितिको नेतृत्व गरी देशको उर्जा संकट समाधान गर्न रउर्जा सुरक्षाका लगायतका विषयमा सक्रिय,
–    २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ बाट अत्यधिक मत सहित विजयी सांसद थापाले  संविधानसभा मस्यौदा समितिको सदस्यको रुपमा संविधान लेखनमा सक्रिय, संसदमा जनसरोकारका विषयहरू बुलन्द,
–    त्यस्तै २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापतिको रुपमा कृषि, उर्जा,जलस्रोत लगायतका क्षेत्रमा नीतिगत पहल कदमी । ( कृषि,विकास रणनीति, भू उपयोग नीति  एकिकृत जलश्रोत नीति, जलउत्पन्न प्रकोप नियन्त्रण नीति, उर्जासुरक्षा नीति तयार गर्न महत्तोपूर्ण आधार दिएको,, बुढीगण्डकी आयोजना नेपालले नै वनाउन सक्ने अवधारणा सहितकोविस्तृत खाका प्रदान)
–    २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा  काठमाण्डौ ४ बाट पुनः निर्वाचित भएपश्चात संसदमा जनताका सवाललाई संसदको विषय बनाउन संसद भित्र र बाहिर रचनात्मक उपस्थित,
–    संसदको भूमिका के हो भनेर स्थापित गराउने र त्यो भूमिकालाई न्याय गर्ने सांसद,
–    सबै भन्दा सक्रिय, शसक्त, जिम्मेवार, जवाफदेही र कर्मनिष्ठ सांसद,
–    सरकार वा प्रतिपक्ष जहाँ रहेर काम गरेपनि सरकारका गलत कामको विरोध र सही काममा सहयोग र समन्वय गर्ने गरेको,
–    जनता र जनताको समस्यालाई केन्द्रविन्दुमा राखेर संसदमा निरन्तर जनताको आवाजको उठान,
–    प्रतिपक्षमा हुँदा पनि जनहितका विषयमा सरकारसँग समन्वय गरेर काम गरेको,
–    महिला, दलित, मधेसी,  सीमान्तकृत वर्ग, क्षेत्र र समुदायको लागि आवाज उठाउने निकै थोरै सांसद मध्य एक,
–    शिक्षा, स्वास्थ्य, वातावरण, रोजगारी लगायतका विषयमा संसद र समितिमा निरन्तर क्रियाशिल
–    चिकित्सा शिक्षा विधेयक निर्माणमा नेतृत्वदायी भूमिका,
–    काठमाडौंको धूलो र धुवा हटाउन र लिभेवल काठमाडौं बनाउने योजनाकार,
–    नागरिकको स्वतन्त्रताको हकका निम्ति सदैव लडेको,

स्वास्थ मन्त्री 
२०७३–२०७४ सालमा ९ महिनाको छोटो समय स्वास्थ्य मन्त्री रहँदा– ९–१० महिनाको छोटो कार्यकालमै धेरै उपलव्धि र ठोसनीतिगत परिवर्तन ल्याउन सफल ( थुप्रै नीतिगत परिवर्तनको शुरुआत । नेपालमा छोटौ समयमा सफल स्वास्थ्यमन्त्रीकोरुपमा जनताले लिएको ।
उनले गरेका कामलाई ल्यान्सेट कमिसन र विश्वश्वास्थ्य संगठनज स्ता अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको, नेपालको स्वास्थ तथा राजनीतिक क्षेत्रका महत्वपूर्ण व्यक्तित्वले समेत प्रसंशा गरेको ।

गगन थापाको पारिवारिक तथा सामाजिक पृष्ठभूमि 
इन्जीनियर बुबा महेन्द्रकुमार थापा सरकारी जागिरको शिलशिलामा सिन्धुपाल्चोकमा कार्यरत रहेका बेला आमा रामेश्वरी थापाको कोखबाट गगन थापाको जन्म भएको हो । उनको बाल्यकाल सिन्धुपाल्चोकको लामसाङमा बित्यो । त्यसपछि भने उनीहरु काठमाडौ ३०, रातोपुलमा बस्दै आए ।

बुबाआमाको घर सोलुखुम्बु भए पनि पढ्ने शिलशिलामा बुबा काठमाडौं आएपछि उनीहरु काठमाडांैमै बस्न थाले । थापाले सिन्धुपाल्चोकमा १ कक्षासम्म पढे । २ कक्षा देखि काठमाडौको सिद्धार्थ वनस्थलीमा पढ्न थाले ।

उनले विद्यालय तहमा बढ्दादेखि नै ट्युसन पढाउन थाले भने कलेज प्रवेश गरेपछि बिहान सबेरैदेखि राति अबेरसम्म अध्ययन अध्यापनसँगै व्यवसायीक, सामाजिक र राजनीतिक क्रियाकलापमा खटिन्थे ।

उनले बागबजारमा हिमाल ट्युसन सेन्टर नै संचालन गरेर १५ सय जना जति विद्यार्थीलाई पढाउने गर्थे । त्यतिबेला उनी राम्रो शिक्षक भसकेका थिए । उनले एकातर्फ व्यवसायीक हिसाबले ट्युसन पढाइहेका थिए भने अर्कातर्फ धेरै जनालाई निःशुल्क पढाएर शैक्षिक गोरेटोमा डोहोर्याएका थिए ।

घरेलु कामदाहरुलाई घरमै बोलाएर निःशुल्क ट्युसन पढाउने गर्थे । बिहानदेखि बेलुकासम्म धेरै कामहरुबाट थाकेर घर फर्केपछि पनि उनले रातिको समयमा उनीहरुलाई पढाउने गर्थे ।

त्यतिबेला उनी त्रिचन्द्र कलेजमा स्ववियू सभापति थिए । उनले एफएम अध्यात्म ज्योतिमा दैनिक प्रवचनको कार्यक्रम चलाए । उनले बिहान साढे ५ देखि साढे ६ बजेसम्म रेडियोबाट प्रवचन दिने गर्थेे । त्यसपछि उनी क्लासिक एफएफ हँुदै केएटीएच एफएम (अहिले ईमेज एफएम) सम्म आइपुग्दा चर्चित प्रस्तोता र समाचारवाचक भएका थिए । उनले दक्षिण एसियाली खेलकुदसहित थुप्रै अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा कमेन्टेटरको भूमिका पनि निभाए ।

त्यही बेलामा क्यासेटहरुमा आवाज डबिङ गर्ने, डकुमेन्ट्रीहरु बनाउने, त्यसमा आवाज दिने गरे । त्यसले मात्रै चित्त नबुझेपछि उनले ग्लोबल मिडिया सर्भिस खोले । त्यसबाट उनले धेरै जनालाई पत्रकार, प्रस्तोता सम्वन्धी तालिम दिने र जागिर खान योग्य बनाए ।

त्यतिबेला उनको दैनिकी यति कसिलो थियो कि उनलाई एकछिन पनि फुर्सद हुँदैनथ्यो । बिहान रेडियोमा काम गर्ने, दिउँसो त्रिचन्द्रमा स्ववियू सभापतिको रुपमा काम गर्ने, ट्युसन पढाउने, मिडिया टे«निङ दिने गर्थे । अहिले पनि ती दिन सम्झँदा उनी रोमाञ्चित हुन्छन् ।

उनले विज्ञानको रसायनशास्त्रमा बीएससी गरे भने भने उनले समाजशास्त्रमा स्नातकोत्तर गरे ।  स्ववियू सभापति भएकै बेलामा चितवनको महाधिवेशनबाट नेविसंघको उपाध्यक्षमा चुनिए । नेविसंघको केन्द्रमा आएपछि शैक्षिक बहसहरु चलाउने, राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा लेखहरु लेख्ने गरेर राजनीतिक दायरा फराकिलो बनाउँदै थिए ।

त्यसपछि राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिए । त्यसपछि सबै कुरा फेरियो । आन्दोलन शुुरु हँुदै थियो माघमा वीरगञ्जमा भएको महाधिवेशनबाट नेविसंघको महामन्त्रीमा विजयी भए । त्यतिबेला दलहरु कमजोर भएका थिए, विद्यार्थी राजनीतिले राजनीतिलाई उठाउनु पर्ने बेला थियो । विश्वास आर्जन गर्नुपर्ने थियो । पार्टीहरुले गर्ने आन्दोलनका लागि आधार तयार पार्नुपर्ने थियो । आन्दोलनको दायरा फराकिलो बनाउँदै एकातिर राजतन्त्रको अन्यायविरुद्ध लाग्नु थियो भने अर्कोतिर शैक्षिक मुद्धाहरुलाई स्थापित गर्नुपर्ने थियो । सीटीईभीटी स्थापना, प्लस टु लगायतका कतिपय शैक्षिक विषयहरु त्यही आन्दोलनबाट स्थापित भएका मुद्धा हुन् । आन्दोलनबाट ती उपलब्धी प्राप्त गर्न र त्यसलाई स्थायित्व दिन उनको नेतृत्वदायी भूमिका रह्यो ।

आन्दोलनमा जताजतै अग्रपंक्तिमा रहेकाले उनलाई त्यहीबेला राजद्रोहको मुद्धा लाग्यो । नेविसंका सभापति, उनी र अनेरास्ववियूका एकजना नेता हिरासतमा परे । केही समयपछि उनीहरुलाई छोडियो । त्यो बेलाको दुई वर्ष पूरै आन्दोलनमा केन्द्रीत भयो । राजतन्त्रको सान्दर्भिकताका विषयमा बहस नै चलाए । सार्वजनिक रुपमा बोल्ने, लेख्ने, जनमत बनाउने, वातावरण बनाउने अभियान पनि उनीहरुले शुरु गरे ।
त्यतिबेला नै नेपालमा शान्तिपूर्ण तरिकाले गणतन्त्र ल्याउनुपर्छ भनेर बोल्ने र लेख्ने गर्न उनीहरुले थालेका हुन् । त्यसको पक्षमा जनमत बनाउने काम गरे । त्यो बेलामा पनि उनी रेडियोमा काम गर्थे । दिनभर आन्दोलन गर्ने बेलुका रेडियोमा गएर आफ्नै बारेमा बोल्नुपर्ने अप्ठेरो आइलाग्यो । कति दिनसम्म हिरासतमा हुँदा रेडियो कार्यक्रम गर्न नपाउने लगायतका कारणले गर्दा त्यसपछि उनले रेडियो छोडे । नेविसंघको महामन्त्री हुँदा पनि उनी रेडियो मै काम गर्थे ।

नेपाली कांग्रेस र नेविसंघले गणतन्त्रको पक्षमा बोलेका थिए । गगन भने खुलेरै गणतन्त्रको पक्षमा लागेका थिए । त्यही बेला उनी महामन्त्रीबाट निकालिए । कुनै पद नभए पनि उनी आन्दोलनको अग्रपंक्तिमै रहे ।

आन्दोलनमा सबैभन्दा सक्रिय आन्दोलनकारी उनै थिए । त्यही बेला नेपालको आन्दोलनका बारेमा र राजतन्त्रको असान्दर्भिकताका बारेमा विदेशतिर पनि बोलाउन थाले । सन् २००३ मा विश्व बैंकको सम्मेलनमा पनि उनी सहभागी भए । संसारभरबाट छानिएका नेताहरुमा सहभागी हुने ठाउँमा उनी कलिलै उमेरमा छानिए ।

त्यतिबेला राजतन्त्रको विरुद्धमा कोही पनि बोल्न सक्दैन थिए । मानवअधिकारकर्मी नागरिक अगुवा कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेको नेतृत्वमा रत्नपार्कमा एउटा कार्यक्रम भयो । उनले त्यहाँ राजतन्त्रको क्रुर शासनको विरुद्धमा बोले । उनी फेरि त्यहीँबाट पक्राउ परे । गणतन्त्रको पक्षमा बोलेर राजद्रोहको मुद्धा लाग्ने उनी मात्रै थिए त्यतिबेला ।

अदालतमा सुवास नेम्वाङ, राधेश्याम अधिकारी उनका वकिल थिए । अदालतमा उभिएर ‘म राजा मान्दिन, राजा फाल्नुपर्छ, गणतन्त्र ल्याउनु पर्दछ’ भनेर उनले आँटिलो बयान दिए । हिरासतबाटै कान्तिपुरमा गणतन्त्रको पक्षमा लेख लेखे । नेपालमा राजतन्त्रले प्रजातन्त्रलाई जहिले पनि बाटो रोक्छ भन्ने उनको मान्यता थियो । संसारमा कतिपय देशमा राजसंस्थाले लोकतन्त्रलाई स्वीकार गरेपछि राजा ज्ञानेन्द्रले सक्दैनन् भन्ने उनको दावी थियो । परिवर्तनलाई स्वीकार गर्न नसक्ने राजतन्त्रको औचित्य नहुने उनले जिकिर गर्थे । जनउत्तरदायी शासन, लोकतन्त्र, गणतन्त्र अपरिहार्य हो भन्ने उनको निश्कर्ष थियो ।

त्यतिबेला अमेरिकाको सिनेटमा नेपालको राजाले शेरबहादुर देउवा र गगन थापालाई बन्दी बनाएको छ भनेर आवाज उठेको थियो । उनी सामान्य आन्दोलनकर्मी मात्रै नभइ एउटा विम्ब बन्न सकेका थिए । आन्दोलन सशक्त हुँदै थियो, उनलाई तारेकमा छोडियो । धरौटीमा राख्नसमेत सकेन । त्यसपछि पोखरामा हुन लागेको नेविसंघको महाधिवेशबाट सभापति बन्ने तयारीमा थिए । तर उनलाई उम्मेदबार बन्नसमेत दिइएन ।
तर पनि उनले आफूलाई आन्दोलनमै सक्रिय बनाइरहे । त्यतिबेला उनको कुनै पदीय जिम्मेबारी थिएन । दोस्रो जनआन्दोलनको मुख्य वक्ताको रुपमा सबैले उनलाई बोलाउँथे । कीर्तिपुर, बालाजु, कलंकी, चावहिल जहाँ सुकै पनि उनको खोजी हुन्थ्यो । आन्दोलन सफल भयो । राजाले बैशाख ११ मा संसद पुनःस्थापनाको घोषणा गरे । अनि आन्दोलन सकियो ।

आन्दोलन सकिएको दिनमा महाराजगंजमा तत्कालीन कांग्रेस सभापति तथा आन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाको निवासमा जनमानसले यहींबाट संविधान सभाको घोषणा गर्नुपर्छ भनेर नाराबाजी गर्न थाले । अरु कोही पनि बोल्दा मास कन्ट्रोल नभएपछि उनले पर्खाल चढेर यहीँबाट घोषणा गर्ने कुरा व्यवहारिक र बैध हुदैन, राजाले संसद पुनःस्थापना गरेकाले अब त्यहीँबाट उपलब्धीहरुलाई संस्थागत गर्नुपर्छ भनेर भनेपछि मात्रै भीड साम्य भएको थियो ।

आन्दोलनको बेला उनले अरु खासै काम गरेनन् । त्यो आन्दोलनपछि देशमा नयाँ अध्याय शुरु भयो । नेविसंघको राजनीति छोडेर उनी पनि पार्टीको राजनीतिमा सक्रिय भए । त्यसपछि काठमाडौं क्षेत्र नं ४ को क्षेत्रीय सभापतिमा निर्वाचित भए ।

त्यतिखेर नै हो पाल्पा रामपुरमा कार्यक्रममा जाँदा पढाइमा समस्या परेकी एक जना बहिनी संगीता रानालाई काठमाडौं ल्याएर पढाउन थाले । एक जना सक्ने मानिसले अर्को पढ्नबाट बञ्चित एक जनालाई पढाउनु पर्छ भन्ने अभियान चलाए ।

त्यो अभियानको क्रमले पढ्न नपाएका धेरै बालबालिकाहरुले पढ्ने मौका पाए । तिनीहरु अहिले पनि भेटिन्छन् । कक्षा ५ देखि स्नातकसम्म पढाइएको छ उनीहरुलाई । जहाँ जे मौका मिल्छ त्यसको उपभोग गर्थे गगन । यस्ता धेरै सामाजिक अभियानहरु उनले चलाएका थिए ।
त्यसपछि २०६४ सालको संविधान सभाको निर्वाचन भयो । देशभरि प्रचार प्रसारमा हिँडे । त्यही बेलामा कांग्रेसलाई विचारको पार्टी बनाउनु पर्छ भनेर वैचारिक बहस बढाउन पब्लिक पोलिसी पाठशाला स्थापना गरेर अभियान चलाए ।

लेखपढ गर्ने गराउनेमा लागे । विचार नामक विचारमुलक पत्रिका प्रकाशित गर्न थाले । कांग्रेस सम्बन्धी दुर्लभ केही दस्तावेजहरु संकलन तथा प्रकाशन गरियो । त्यतिबेला उनलाई प्रत्यक्षमा टिकट दिन आम नेपालीको दबाब थियो । तर पार्टीले समानुपातिकमा राखेको थियो । समानुपातिकबाटै भए पनि सभासद् भएपछि उनको जीवनको अर्को पाटो शुरु भयो ।

संविधान सभामा मानवअधिकार समितिमा काम गरे । गैरआवासीय नेपालीले नागरिकता पाउनु पर्दछ भन्ने प्रस्तावको प्रमुख प्रस्तावक उनी नै थिए । आमाको नामबाट नागरिकता पाउनु पर्दछ, १८ वर्षसम्म बालबालिकालाई राजनीति गराउन पाइँदैन भन्ने कुरामा लागेपछि युनिसेफ लगायतका संस्थाको सक्रियतामा संसदभित्र बालअधिकार समिति बन्यो छुट्टै, त्यसको संयोजक भएर काम गरे ।

त्यतिबेला बालबालिकासहित जलश्रोत, उर्जामा, सूचनाप्रविधि, वैदेशिक रोजगारी, आप्रवासन लगायतका विषयमा उनको बढी चासो थियो भने चुरेको वनको संरक्षण सम्वन्धी प्रतिवेदनहरु तयार पार्ने र प्रस्तुत गर्ने काम उनले गरे । संविधान सभामा हरेक विषयमा उनी एकदमै सक्रिय सदस्य थिए उनी । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको तर्फबाट उपस्थित हुने मौका पनि उनले पाए ।

संविधान सभाको पहिलो कार्यकालको अन्तिम दिनमा सभामुखको कोठामा गएर राजनीतिक सहमति हुनुपर्छ भन्ने उनी एकजना कान्छो सदस्य थिए । अन्तिम समयमा त्यो कुराले अर्को संविधानसभाको काम अघि बढ्यो । बत्तीस वर्षमा उनी सभासद् भएका थिए ।

त्यसपछि कृषि सम्बन्धी अभियानमा लागे । युवाहरुलाई कृषिमा आकर्षित गर्ने, सहयोग गर्ने, प्रेरित गर्ने कामहरु धेरै ठाउँमा उनले गरे । उनी आफैले पनि सुनखानी एग्रिकल्चर कम्पनी दर्ता गरेर त्यसबाट बाख्रापालन शुरु गरे । मासु पसल चलाए । काम नगरी कहिल्यै बसेनन् ।
पछिल्लो समयमा सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायत लगायतका विषय सार्वजनिक विषय हुन्  भन्दै त्यसमा सरकारको लगानी बढाउनु पर्र्दछ भन्ने मान्यतामा हिँडेका छन् । विद्यालय, अस्पतालबाट दिइने सेवा समान हुनुपर्छ भन्ने मान्यताका साथ चिकित्सा शिक्षा विधेयक, शिक्षा ऐन लगायतका ऐन बनाउने बेलामा उनले भूमिका खेले ।

युवा र वैदेशिक रोजगारी
युवा वर्ग र वैदेशिक राजगारीको विषयमा पनि उनी उत्तिकै सक्रिय रहे । युवाहरुलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने लगायतका विषयमा उनको जोड रह्यो । युवाहरुलाई मौका दिनुपर्छ, सहयोग र समर्थन गर्नुपर्छ मुलुकमै धेरै काम गर्न सक्छन् भन्ने उनलाई लाग्छ ।

युवाहरुलाई साना–साना उद्योग, व्यापार गर्न सघाउने, प्रेरित गर्ने र साथ दिने गरियो भने एकातिर रोजगारी र आर्थिक बृद्धि हुन्छ भने अर्कोतर्फ विदेसिने क्रम पनि घट्छ भन्ने बुझाई उनको छ । त्यही बुझाईका कारण युवाहरुलाई नेपालमै सानो–सानो व्यापार व्यवसायमा संलग्न गराइहाल्नु पर्ने उनको जिकिर छ ।

सुशासनको विषयमा पनि उत्तिकै चिन्ता 
मुलुकमा सुशासन नहुँदासम्म जति नै विकास र संवृद्धि गरे पनि बालुवामा पानी जस्तो हुन्छ भन्ने नेता थापालाई लागेको छ । त्यसैले सुशासनमा उनको उत्तिकै जोड छ । त्यसका लागि उनले बजेट ऐन, संसदीय समितिमा प्रिबजेट छलफल चलाउनेदेखि सुशासनमा केन्द्रीत धेरै नीतिगत व्यवस्थाका लागि भूमिका खेलेका छन् ।

सक्रिय सभासदको रुपमा  

दोस्रो संविधान सभामा संविधान सभा सफल बनाउनु पर्छ भनेर दवाव दिने, सक्रिय हुने, र सृजात्मक रुपमा लागिरहने सांसदको रुपमा उनको पहिचान बनेको छ । उनले युवा संसदहरुको टोली बनाएर शिर्ष नेताहरुलाई दवाव र सुझाव दिने अभियान पनि चलाए ।

संविधान निर्माणका क्रममा केही फरक मान्यताहरु पनि उनले राखे । पार्टीको निर्णय भन्दा माथि उठेर उनले अहिलेसम्म पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयलाई उठाइरहे । त्यस्तै आमाको नामबाट नागरिकता दिनुपर्छ भन्ने लगायतका विषयमा उनले लबिङ गरे । उनले उठाएका कतिपय विषय संविधानमा परे भने कतिपय विषयमा अहिले पनि बहस चलाइरहेका छन् । सभासद् वा सांसद हुँदाँको अनुभव सुनाउँदै उनले भने, ‘कुनैपनि सांसदले नीति निर्माण गर्दा दीर्घकालीन दृष्टिकोण र फराकिलो स्वार्थ राख्नुपर्छ । आफ्नो कुरामा लगिरराख्नु पर्छ । परिणाम अहिले नै आइहाल्छ भन्ने हुदैन ।’

संविधान सभामा हुुँदा कतिपय बेला महिला अधिकारका लागि कुरा उठाउने पुरुष र  दलितका लागि फरक मत राख्ने गैरदलित संभवतः उनीमात्रै थिए । कुनै वर्ग विशेषका लागि त्यही वर्ग विशेषले मात्रै कुरा उठाउनु पर्छ भन्ने आम प्रवृत्ति भन्दा फरक देखिएर उनले अन्य वर्ग समूदायको पक्षमा स्पष्ट धारणाहरु राख्ने गरे ।

राजनीतिक अभियान्ता र सभासद् वा सांसदका रुपमा उनले अहिलेसम्म गरिरहेका गतिविधिहरु हेर्दा लोकतन्त्र, मानवअधिकार लगायतका विषयमा उनले बढी नै विश्वास छ भन्ने देखिन्छ ।

विविधतालाई सशक्त सम्पत्तिको रुपमा सम्मान 
नेपालको विविधतालाई उनले ठूलो र मौलिक सम्पत्तिका रुपमा लिएका छन् । ‘नेपाल विविधताभित्र सबैलाई बराबर सम्मान र प्राथमिकता दिनुपर्छ, नेपालको आफ्नै राष्ट्रिय पहिचान र परिचय छ, त्यसलाई स्थापित गर्दै लैजानु पर्दछ’ नेता थापाले भने ।

नेपालको मौलिकता, धर्म, परम्पराको संरक्षणमा जोड दिँदै धार्मिक स्वतन्त्रताको पनि उत्तिकै सम्मान गर्नु पर्दछ भन्ने उनको भनाइ छ । हाम्रा कुनै पनि जातिगत तथा विविध संस्कृति कसैका लागि विभेदको आधार बन्न भने नहुनेतर्फ उनी सचेत छन् ।

यी मान्यतामा आधारित कुनै पनि सामाजिक तथा सांस्कृतिक अभियानहरुमा उनको सहभागीता र ऐक्यवद्धता सधै रहिनै रह्यो ।

स्वार्थ बाझिनेमा सतर्क 
संसद अन्तर्गतको कृषि तथा जलस्रोत समितिको सभापति हुुनु भन्दा पहिले उनले कृषि सम्बन्धी व्यवसाय पनि गरिरहेका थिए । त्यतिबेला उनले नेपाल सरकार अन्तर्गतको एउटा परियोजनामा अनुदानका लागि आवेदन दिएका थिए ।

आवेदन दिएको डेढ वर्षपछि निवेदन स्वीकृत भयो । करिब एक करोड बराबरको ऋण पाइने भयो, ऋण स्वीकृत हुँदा उनी कृषि समितिको सभापति भइसकेका थिए । तर समितिको सभापति भएको बेला त्यो स्वीकृत भएकाले स्वार्थ बाझिने देखेर उनले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘मैले कि समितिको सभापति छोड्नु पर्यो, कि अनुदान छोड्नु पर्यो भनेर मैले एक करोडको अनुदान छोडेँ ।’

यसले के देखाउँछ भने भोलि अन्य यस्ता धेरै भूमिकाहरु हुन्छन्, त्यतिबेला पनि स्वार्थ जोडिने गरी काम गर्नु हुँदैन भन्ने मान्यतामा उनी स्पष्ट भएको पाइन्छ । त्यो अहिले धेरै मान्छेमा मर्दै गइरहेको अवस्था छ । स्वार्थ बाझिने कुरामा उनको सतर्कता साँच्चिकै उदाहरणीय छ ।

विदेशमा खोजिने नेपाली युवा राजनीतिज्ञ
अन्तर्राष्ट्रिय मंचहरुमा उनी लामो समयदेखि नेपालको तर्फबाट सहभागी हुन पाइरहेका छन् । सन् २००५ मा विद्यार्थी नेताकै रुपमा काम गरिरहेका बेला नेता थापा बेलायतको आईभी कार्यक्रममा सहभागी भए । एसियन पार्लियामेन्ट फोरम, राष्ट्रसंघका विभिन्न सम्मेलनहरु आदिमा उनको सहभागीता उल्लेख्य छ । उनका धुप्रै लेख रचनाहरु स्वदेशी विदेशी जनरलहरुमा प्रकाशित भइरहेका छन् ।

स्वदेशमा आशाको केन्द्र, विदेशमा विश्व नेता
गत एक दशकभर मुलुकका लागि केही गर्ने पात्रको रुपमा सर्वाधिक अग्रपंक्तिमा उनको नाम धेरैले सम्झिरहे । राजनीतिप्रति आक्रोश र वितृष्णा भइरहेका बेला उनी आशाको केन्द्र भए । राजनीतिमा अझै पनि केही सकारात्मक पात्रहरु छन् भनेर चित्त बुझाउन उदाहरण दिने व्यक्तिका रुपमा उनी  रहिरहे ।

एकपछि अर्को वितृष्णा थपिइरहेको, राजनीतिक नेताहरुको छवि धुमिल भइरहेका बेला आकर्षक गराउने पात्रको रुपमा टिकिरहनु सजिलो थिएन ।

उनी नेपालको आशाको केन्द्र बनिरहेका छन् । विदेशमा युवा विश्व नेताका रुपमा चिनिन्छन् । कान्तिपुर मिडिया ग्रुपले गरेको स्वतन्त्र सर्वेक्षणबाट उनी पटक पटक वर्ष पुरुष घोषित भए । नेपाल जेसिजले दिने राष्ट्रिय युवा सम्मान उनले पाए ।

२०७१ सालदेखि युथ ग्लोबल लिडर (वाईजीएल) उनको अर्को उच्च परिचय बनेको छ । युवा विश्व नेताका रुपमा उनी अहिले पनि विभिन्न सम्मेलनहरुमा युवाहरुलाई प्रेरित गर्न जाने गर्छन् ।

प्रशंसनीय र अविस्मरणीय स्वास्थ्यमन्त्री 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको दोस्रो सरकारमा उनी सर्वाधिक लोकप्रिय मन्त्री थिए स्वास्थ्य मन्त्रीका रुपमा । उनले त्यतिबेला सामान्य दैनिक स्वास्थ्य सेवा, अस्पतालहरुमा सुधारदेखि नीतिगत संशोधन र नयाँ अवधारणाहरुको अबलम्बन सम्मका कामले उनलाई चर्चाको शिखरमा पुर्यायो ।

स्वास्थ्य बिमा उनले सबैभन्दा महत्व दिएको काम हो । नवीन र दुरगामी निर्णयहरुका कारण उनी स्वास्थ्य सबन्धी अन्तर्राष्ट्रिय मंचहरुमा पनि चर्चा र खोजीको पात्र बने । अहिले पूर्वमन्त्री भइसक्दा पनि उनी विश्व गुणस्तर स्वास्थ्य आयोग (ग्लोबल क्वालिटी हेल्थ कमिसन) बाट विश्वव्यापी रुपमा स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका छन् ।

नौ महिनाको छोटो समयमा पनि धेरै काम गरेको भनेर स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले उनको अवधारणा, सरसल्लाह र भूमिकाको खोजी गरिरहेका छन् ।

राहत र नीतिमा सँगसँगै सक्रिय 
मुलुकलाई आइपरेका अप्ठेरा र विपद्का बेला उनी सधै दोहोरो भूमीकामा सक्रिय रहे । भूकम्पको बेलामा होस् या नाकाबन्दीका बेलामा वा बाढीपहिरोका बेलामा होस्, उनी राहत तथा उद्धारसँगसँगै नीतिगत व्यवस्था सुधारमा उत्तिकै सक्रिय भए ।

भूकम्प आएपछि अस्पतालहरुमा औषधी र उपचारको व्यवस्थापन गर्ने, पीडितहरुलाई पाल वितरण गर्नेदेखि विद्यालय बनाऔं अभियान चलाएर झण्डै दुई सय विद्यालयको भवन बनाउने अभियान उनले नै शुरु गरे । उनले विद्यालय निर्माण अभियान शुरु गरेपछि अन्य व्यक्ति र संस्थाहरुले पनि निर्माण तथा मर्मत अभियानहरु चलाएका थिए ।

तर उनी त्यसमा मात्रै सिमित भएनन् । भूकम्प जस्ता जोखिमबाट जोगिन अपनाउनु पर्ने नीतिगत व्यवस्थाका लागि नयाँ नयाँ अवधारणाहरु संसदमा उठाए ।

उनले काठमाडौंको कुनैपनि सार्वजनिक जग्गा बाँड्न नदिन संसदमा प्रस्ताव लगेर विकास समिति मार्फत् निर्देशन दिन लगाएका थिए । विपद व्यवस्थापनका लागि छुट्टै विपद् व्यवस्थापन प्राधिकरण हुनुपर्छ भन्नेमा उनँले निरन्तर लभिङ गरिनै रहेका छन् ।

पछिल्लो समय तराईमा बाढी आएको बेला उनले एकातिर बाढीपीडितहरुलाई राहत प्याकेज स्वरुप मायाले भरिएको बाल्टीन वितरण गर्नतिर लागे भने अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका क्रममा बाँधहरु नेपाललाई असर नपर्ने गरी व्यवस्थापन गर्न दबाब दिने अभियान पनि चलाए । त्यसका लागि लिखित रुपमै सुझावहरु पनि दिए ।

त्यसैगरी भारतले नाकाबन्दी गरिरहेका बेला पनि एकातिर नाकाबन्दीको विरोध गर्न सडकमा उभिए भने सडक आन्दोलनले मात्रै दीर्घकालीनसम्म समस्या समाधान हुँदैन भन्ने महसुस गरी नीतिगत व्यवस्था गर्नेतर्फ पनि उत्तिकै लागे ।

भारतसँगको परनिर्भरताका कारण नाकाबन्दीले गाह्रो पारेको निष्कर्ष निकाल्दै परनिर्भरता कम गर्ने उपायहरुको खोजी गर्ने क्रममा स्वदेशमै उर्जा उत्पादन पढाउनेतर्फ लागे । त्यसका लागि राष्ट्रिय उर्जा योजना बनाउनेतर्फ लागे भने संसदमा अग्रसरता लिएर बुढीगण्डकी विद्युत आयोजना नेपालीको पैसाबाट बनाउन दबाब दिए ।

साथै काठमाडौमा विद्युतीय सवारी मात्रै चल्न पाउने व्यवस्था गर्नु पर्दछ भन्ने सम्मका नीतिगत व्यवस्थाका लागि पनि नेता थापाले पहल गरिरहेका छन् । हाम्राकुरा डटकम बाट साभार

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार