देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तत्काल बन्दैन मेलम्चीः सरकारले ल्यायो दुई विकल्प

0

काठमाडौं – बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ। यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ। दुई दशक लामो प्रयासपछि मेलम्चीको पानी काठमाडौं उत्पत्यकामा ल्याइएलगत्तै गत वर्षात्मा बाढीपहिरोले मुहान क्षेत्रमा क्षति पुर्‍याएपछि आयोजना अवरुद्ध बनेको हो।

बाढीपहिरोले मुहानमा पुर्‍याएको ठूलो क्षतिका कारण यस आयोजनाको भविष्यबारे अनेकौं अड्कलबाजी र धारणा सार्वजनिक भइरहेका बेला सरकारले विकल्प खोजेपछि यो तत्कालै मर्मत हुनेमा अन्योल सिर्जना भएको हो।

सरकारी अधिकारीहरू बाढीपहिरोबाट मेलम्ची आयोजनामा पुगेको क्षति र यसको पुनर्निर्माणको समयबारे खुलेर बोल्न चाहेको देखिँदैन। तर पछिल्ला दिनमा सरकारले स्थायी रूपमा मेलम्चीको पानी ल्याउनुको सट्टा २ विकल्प अघि सारेर काम थालेको छ।

दुई विकल्पमध्ये एउटा अस्थायी रूपमा हिउँदमा मात्र मेलम्चीबाट पानी ल्याउने छ। दोस्रो विकल्पमा काठमाडौं उपत्यकाका १० स्थानमा नयाँ बोरिङ खन्ने योजना छ। तत्काल पुनर्निर्माणको सट्टा सरकारले नयाँ विकल्प अघि सारेपछि आयोजना छोटो समयमा बन्न सक्दैन कि भन्ने आशंका उत्पन्न भएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले मेलम्ची नदीको बाढीपहिरो नियन्त्रण नगरेसम्म दीर्घकालीन रूपमा काठमाडौं उपत्यकामा पानी ल्याउन चुनौती भएको स्विकारे। ‘मेलम्चीको जलाधार क्षेत्रमा बाढीपहिरोको स्थायी नियन्त्रण नगरेसम्म दीर्घकालीन रूपमा पानी उपत्यकामा ल्याउन समस्या हुने देखिन्छ,’उनले नागरिकसँग भने,‘त्यसैले अहिले हामीले अस्थायी रूपमा मात्रै पानी ल्याउन आवश्यक काम गर्न लागेका हौं।’

मेलम्ची खानेपानी विकास बोर्डका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रमा रहेको गेग्रान सफा गर्ने तथा अस्थायी संरचना निर्माणको काम भेरिएसनमार्फत गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको छ। यो प्रस्ताव पास भए अस्थायी संरचना बनाउन काम सुरु गरिनेछ।

समितिका कार्यकारी निर्देशक पौड्यालले अस्थायी रूपमा पानी ल्याउन आयोजनाको हेडवक्र्समा काम सुरु गर्न तयारी थालिएको बताए। ‘समितिले हेडवक्र्स क्षेत्रमा थुप्रिएको गिटीबालुवासहितको गेग्रान सफा गर्ने र अस्थायी रूपमा सञ्चालन गर्ने काम भेरिएसनमार्फत गर्ने प्रस्ताव मन्त्रालयमा पेस गरेको छ’,उनले भने, ‘मन्त्रालयले आवश्यक संशोधन गरेर मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ।’

समितिले करिब डेढ अर्ब लागतमा मेलम्चीको अस्थायी संरचना तयार पारेर हिउँदमा मात्रै भए पनि पानी ल्याउने तयारी गरिरहेको उनले बताए। उनका अनुसार आयोजनाले पहिलो चरणमा हेडवक्र्स अम्बाथानमा अवस्थित दुईवटा अडिट टनेल सफा गर्ने कार्ययोजना बनाएको छ।

समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बाढीपहिरोले आयोजनाको मुख्य सुरुङ टालिएकाले क्रमशः सफा गर्दै जाने बताए। उनले आगामी वैशाखभित्रै आयोजनाको अस्थायी संरचना तयार पारेर उपत्यकामा पानी ल्याउने बताए। ‘सोचेअनुसार काम भए आगामी चैत÷वैशाखभित्रै अस्थायी संरचनाबाट मेलम्चीको पानी उपत्यकामा ल्याउने लक्ष्यसहित कार्ययोजना तयार पारेका छौं,’ उनले भने, ‘हिउँदेयाम सुरु भएकाले अब मर्मतसम्भारले गति लिनेछ।’

दोस्रो विकल्पका लागि काम गर्न थालेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले उपत्यकाका दस स्थानमा बोरिङ खनेर दैनिक एक करोड लिटर खानेपानी आपूर्ति गर्ने तयारी गर्दैछ। केयुकेएलले काठमाडौं,भक्तपुर ललितपुरका विभिन्न १० ठाउँमा डिपट्युबवेल खन्ने तयारी गरिरहेको छ। केयुकेएलका उपप्रबन्धक प्रकाशकुमार राईले भने मेलम्ची आयोजना प्रभावित भएर नभई नियमिति कार्यअन्तर्गत बोरिङ खन्ने काम भएको दाबी गरे।

‘मेलम्ची आयोजनामा समस्या देखियो भनेर अन्डरग्राउन्ड बोरिङ खन्न लागेको होइन,’उनले भने, ‘केयुकेएलको नियमित कामअनुसार नै एक करोड लिटर पानी तान्न बोरिङ खन्न लागेका हौं।’ तर केयुकेएलका एक अधिकारीले मेचम्ची आयोजनामा क्षति पुगेकै कारण अहिले हतारमा १० स्थानमा बोरिङ खन्ने योजना बनाइएको जानकारी दिए।

काठमाडौं उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानीको माग छ। अहिले केयुकेएलले मुस्किलले दैनिक १२ देखि १३ करोड लिटर पानी आपूर्ति गर्दै आएको छ। पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउने भनिएको थियो।

सरकारले मेलम्ची खानेपानी आयोजनामा एसियाली विकास बैंकसँगको साझेदारीमा हालसम्म ५१ अर्ब रूपैयाँ खर्चिसकेको छ। मेलम्ची सुरुङमार्ग, हेडवक्र्सलगायतका पूर्वाधारमा ३० अर्ब रूपैयाँ खर्च भइसकेको छ।

सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीलगायत संरचना निर्माणका लागि २१ अर्ब रूपैयाँ खर्च भएको छ। दुई दशक लामो प्रयासपछि गत चैतदेखि मेलम्चीको पानी उपत्यकामा वितरण गर्न थालिएको थियो।

गत असार १ गते र साउन १५ गते मेलम्ची क्षेत्रमा बाढीपहिरोले आयोजनाको हेडवक्र्स जाने अम्बाथानको पहुँचमार्ग,कोफरड्यामसहित हेडवक्र्समा ठूलो क्षति पुर्‍याएको थियो। पहुँचमार्गमा भने चनौटेको पुलमा क्षति पुगेको छ। अघिल्लोपटक बाढीले क्षतिग्रस्त बनाएको पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही सञ्चालन गरे पनि दोस्रोपटकको बाढीले फेरि फेरि भत्काएको थियो। अहिले चनौटेमा बेलिब्रिज निर्माण भइरहेको छ।

बाढीपहिरोले करिब आठ किलोमिटर पहुँचमार्ग र ६ वटा पुलको संरचनामा क्षति पुर्‍याएको थियो। मेलम्ची बजारदेखि अम्बाथानसम्म लगभग अस्थायी ट्र्याक तयार भइसकेको छ। हेलम्बु गाउँपालिका र मेलम्ची आयोजनाको सहकार्यमा ट्र्याक तयार भएको हो। आयोजनाले क्षतिग्रस्त संरचना निर्माणका लागि डेढ अर्ब रूपैयाँ बजेट माग गरे पनि अर्थ मन्त्रालयले भने एक अर्बमात्र स्वीकृत गरेको छ। नागरिक दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार