देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तराईमा बाढीको बितण्डा, हामी भयौँ बेघरबार…

0

काठमाडौं – बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पुर्‍याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन्। दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार नवलपरासीको सुस्ता पश्चिममा बाढीमा परेर रामग्राम नगरपालिका १८ का ३८ वर्षीय विनोद पासी र १३ वर्षीय छोरा प्रदीपको ज्यान गएको छ। घरमा पानी पसेपछि छिमेकीको घरमा जाँदै गर्दा उनको मृत्यु भएको थियो। उदयपुर कटारी नगरपालिका २ मिलन चोककका ७ वर्षीय कर्ण मगरको पहिरोमा परेर मृत्यु भएको छ।

महोत्तरीमा रातु खोलाको बाढीले बाँध भत्काउँदा वलवा—तिलगढमा ९ सय घर डुवानमा परेका छन्। ४ हजार ५ सय मानिस घरबारविहीन बनेका छन्। धनुषा र सिरहाको बीचबाट बग्ने कमला नदीमा पानी बढेपछि नजिकका बस्तीमा त्रास बढेको छ। चुरेबाट तराई भू—भागमा बग्ने एक सय ६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौं विस्थापित छन्।

भारतले एकतर्फी रूपमा निर्माण गरेको तटबन्ध एवं बाँधका कारण तराई बर्सेनि जलमग्न हुँदै आएको छ। कैलाली र कञ्चनपुरका नदीमा पनि जलस्तर बढेको छ। कैलाली बाढीमा परेर एक वृद्धाको ज्यान गएको छ। लम्की चुहा नगरपालिका–६ गुलराकी ९० वर्षीया फुखिया थरुनीको चरेला नदीमा आएको बाढीले बगाएर ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहले बताए।

कर्णाली नदीको जलस्तर खतरा नजिक पुगेको छ। टीकापुर नगरपालिका ५ को शाहीपुरमा नदीले कटान तीव्र पारेको वडाध्यक्ष रामशंकर डगौराले बताए। नदीले पुरानो तटबन्ध बगाएको छ।  कर्णालीको बाढीले, रानीजमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको नयाँ तटबन्धसमेत भत्किन थालेको छ। आयोजनाले नदी कटान रोक्नका लागि ठाउँ–ठाउँमा ठूल्ठूला ढुंगा राख्दै आएको छ। तर, ढुंगा पनि नदीले बगाएको सिनियर डिभिजन इन्जिनियर बिदुर श्रेष्ठले बताए।

नदी गाउँ पस्ने जोखिम बढेपछि तटीय क्षेत्रका बासिन्दा बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ। टीकापुर नगरपालिका–७ वडा कार्यालयले सूचना जारी गरी वडावासीलाई सजग रहन अपिल गरेको छ।

कर्णाली नदी कटानले वडा नं. ५ शाहीपुरस्थित तटबन्ध भत्किने क्रम तीव्र रहेकाले वडावासीलाई सचेत गराएको हो। सो सूचनामा वडा नं. ५, ६,७ र ८ का पूर्वी क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा रहेको बताइएको छ।

बाढीका कारण जिल्लाको दक्षिणी भजनी नगरपालिका वडा नं. ३, ५, ७ र ८ मा गरी ८ सय १५ घर डुबानमा परेका छन्। भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले नगरपालिकाका अधिकांश गाउँमा बाढी पसेको बताए। जानकी गाउँपालिकामा बाढीले करिब डेढ सय घर डुबाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार वडा नं. ४ र ७ को बस्तीमा बाढी पसेको हो।

बाढीले पश्चिम नवलपरासीको जनजीवन पनि प्रभावित भएको छ। जिल्लाका सबैजसो पालिका डुबानमा छन्। सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित छ। बिहीबार राति २ बजेको मस्त निद्रामा रहेका बेला बस्तीमा बाढी पसेको हो। जिउ जोगाउन घरको छतमा बसेका स्थानीयले मध्यरातमा हारगुहार गरेका थिए।

एकसरो लुगामा घरको छत र उँचो स्थानमा ज्यान जोगाउन पुगेका स्थानीयले शुक्रबार दिनभर खानासमेत नपाएको रामग्राम नगरपालिका–१ की राधिका रानाले बताइन्। ‘केटाकेटीहरू बिहानको खाना खाने समयमा भोक लाग्यो भनेर रोइरहेका थिए। खाने कुरा नभएपछि ५ पिस बिस्कुट ४ जनालाई बाँडेर दियौं’, रानाले भनिन्।

डुबानमा परेकाहरूलाई उद्धार गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली डुबान क्षेत्रमा पुगे पनि पानीको सतह र बेगका कारण उद्धारमा कठिनाइ भएको थियो। सदरमुकाम परासीमा आफूले पहिलो पटक यस्तो बाढी देखेको रामग्राम–५ का गुणनिधि तिवारीले बताए। त्यसैगरी सदरमुकामपछि पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए।

जलमग्न भएपछि सुरक्षाकर्मीहरूको हतियारको व्यवस्थापनमा समेत समस्या भए पनि सुरक्षित राख्न सफल भएको प्रहरीले जनाएको छ। नवलपरासीमा बाढीमा परेर २ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन्। पूर्व–पश्चिम राजमार्गका बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध छ। तुरिया खोलामा आएको बाढीले पुल भाँच्चिन पुग्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सनसमेत बगाएको छ ।

रुपन्देहीमा करिब चार सय घर डुबेका छन्। डुबेका घरमा खाने अन्न नष्ट भएको छ। देवदहस्थित घोडाहा खोलामाथिको पुलको एउटा स्तम्भ दबिएपछि गाडी आवत–जावत रोकिएको छ। अस्थायी बाटो निर्माण नहुँदासम्म सडक खुल्न नसक्ने रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए। रुपन्देहीको लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावास र शिक्षक आवास क्षेत्र डुवानमा परेको छ। आवास क्षेत्रमा ३० जना शिक्षक, विद्यार्थी र अन्य व्यक्ति फसेका छन्। बौद्ध विश्वविद्यालयका निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्लेले शुक्रबार बिहान ७ बजेपछि दानव नदीमा बाढी आउँदा गाउँ नै डुवानमा परेको बताए।

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। पानीको बहाव उच्च भएपछि कोशी आसपासका क्षेत्रका बासिन्दालाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।  शुक्रबार दिउँसो १ः३० बजे सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा मात्र ढोका खोलिएको छ।

पानीको बहाव उच्च भएपछि भारतले कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालेको छ। सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। भारत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीको श्रीलंका टापुमा कोशीले तीव्र कटान गरेको स्थानीय सन्तोष चन्द्रवंशीले बताए। अन्नपुर्णपोष्ट दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार