देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

0

काठमाडौं – संसदीय सुनुवाई समितिले विभिन्न तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइपछि बिहीबार समितिले जर्मनीका लागि प्रस्तावित रामकाजी खड्का, बेल्जियमका साथै युरोपियन युनियनका लागि प्रस्तावित गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि प्रस्तावित तापस अधिकारीको नाम राजदूतमा अनुमोदन गरेको हो ।

तीनवटै प्रस्तावित राजदूतले आफ्नो योग्यता, जिम्मेवारी, अवधारणा कार्ययोजनाबारे संसदीय समितिमा प्रस्तुति दिएका थिए । समिति सभापति लक्ष्मणलाल कर्णले उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए ।

कोरोना संक्रमणपछिको अवस्थालाई ध्यानमा राखेर भूमिका निर्वाह गर्ने बताउदै प्रस्तावित राजदूतहरूले आगामी दिनमा कूटनीति आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने भएकाले आफूहरू पनि सोहीअनुसार भूमिका निर्वाह गर्न लागिपर्ने आश्वासन दिएका थिए ।

समितिमा प्रस्तावित राजदूत राजभण्डारी विरुद्ध बेरुजु रहेको र विगतमा पदअनुसार कार्य नगरेको भन्ने उजुरी परेको थियो । सुनुवाईका क्रममा राजभण्डारीले सो उजुरी हाँस्यास्पद भएको बताए ।

बैठकमा यसअघि आआफ्ना अवधारणा प्रस्तुत गर्दै प्रस्तावित राजदूतत्रयले पदमा रहँदा कानूनको उल्लङ्घन र अवहेलना हुने कुनै नगरिने प्रतिबद्धता जाहेर गर्दै जिम्मेवारीप्रति दत्तचित्त भई सेवा दिने मामिलामा खरोरुपमा उत्रने अठोट व्यक्त गरे ।

राजदूतका रुपमा काम गर्दा सुधार गर्ने प्रशस्तै सम्भावना रहेको बताउँदै उनीहरुले आफू खटिएको मुलुकबाट लगानी तथा सहयोग ल्याउन आर्थिक कूटनीतिमा जोड दिएर काम गरिने दृढता व्यक्त गरेका थिए ।

प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबाट नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक व्यवस्था छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार