देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

त्यतिबेला संसद विघटन नगरेको भए आज एमाले भन्न पाउदैन थियौं – ओली

0

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक आफूले गरेको संसद विघटनको बचाउ गरेका छन् ।

अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधिसभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति देखेको बताएका हुन् । 

शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै उनले एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफूले संसद विघटन गरेको बताएका हुन् । 

पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद विघटन गरेको बताए। तत्कालीन नेकपाका अध्यक्ष रहेको उक्त भनाइ अर्का अध्यक्ष रहेका पुष्पकमल दाहाल र माधव नेपालप्रति लक्षित थियो ।

‘दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाईयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो । अनि तपाईहरूले देख्नु भएन ? नवौ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजबुत हैसियतमा पुर्‍याएको छ । सबभन्दा ठूलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुई तिहाईको मजबुत शक्ति बनाएको छ । उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ?,’ उनले भने ।

अध्यक्ष ओलीले भने, ‘आज पनि उफ्रिएको छ, भोली पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरी कुरा ठूलो गर्‍या छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउदैन थियौं हामीले । यो अन्तै लगेर बुझाई सकेको हुन्थ्यो ।’

ओलीले आगामी निर्वाचनबाट काठमाडौं जिल्ला एमालेको किल्ला हुने दाबी गरे। उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिए।

उनले भने- ‘गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’

अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने दाबी गरे। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार