देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दाहालको एकल नेतृत्वमै निर्वाचनमा जाँदै माओवादी

0

काठमाडौँ – माओवादी केन्द्रीय समिति बैठकमा गोजीबाट केन्द्रीय सदस्य मनोनीत गरिएको भन्दै विरोध भएको छ । अध्यक्ष पुष्पकमल दाहालले बैठकमा ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेपछि विरोध भएको हो ।

‘पार्टी विधि र पद्धतिले चल्छ, व्यक्तिगत विवेकले होइन,’ बैठकमा करिब डेढ दर्जन नेताको भनाइ थियो, ‘केन्द्रीय समितिमा चयन हुनुपर्ने नेता छुटेका छन् । यसलाई सम्बोधन गर्नुपर्‍यो ।’ यस्तो धारणा राख्नेमा सुदन किराँती, रामदीप आचार्य, माधव सापकोटा, सरल सहयात्री पौडेल, राजकुमार शर्मा, सावित्रा गुरुङ, देवी खड्का, पूर्णा सुवेदीलगायत छन् । आठौं महाधिवेशन सकिएको दुई महिना बित्दा पनि केन्द्रीय समितिलाई पूर्णता दिन माओवादी असफल भएको छ । आकांक्षीहरूको व्यवस्थापन सम्भव नभएपछि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन पनि कम्तीमा दुई महिना पछाडि धकेलिएको छ । वैशाख ३१ को स्थानीय तह निर्वाचनपछि मात्रै केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन हुने नेताहरूले बताएका छन् । अध्यक्ष दाहालले आगामी बैठक जेठ २० मा बस्ने बताएका छन् ।

केन्द्रीय सदस्यहरू सापकोटा, पौडेल, आचार्यलगायतले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा सहमति नभए चुनावबाट टुंग्याउन माग गरेका थिए । ‘सहमति नभए चुनावबाट टुंगो लगाऔं,’ उनीहरूको माग थियो । दाहालले स्थानीय निर्वाचनपछि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोलाई पूर्णता दिने जवाफ दिए । ‘पार्टी मर्दै गएको छ, पार्टीलाई जीवन्त बनाउने हो भने ढाँचा बदल्नुपर्छ, सोच्ने तरिका बदल्नुपर्छ,’ आचार्यले बैठकमा उठेका विषय सुनाए ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए । दाहालले प्रस्ताव गरेका नाममा छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यसहित छन् । ती नाममा विवाद भएपछि ४७ जनाको नाममात्रै अनुमोदन भएको हो । विधानअनुसार केन्द्रीय समिति २ सय ९९ जनाको र त्यसको १५ प्रतिशत (४५ जना) मनोनीत गर्दा केन्द्रीय समिति ३ सय ४४ सदस्यीय हुनेछ तर केन्द्रीय समिति बैठकले ४७ जनाको मात्रै नाम अनुमोदन गरेपछि हाल २ सय ९४ सदस्यीय केन्द्रीय समिति बनेको छ । बाँकी ५० जना मनोनयनको जिम्मा अध्यक्ष दाहाललाई नै दिइएको नेताहरूले बताएका छन् । माओवादी नेता हरिबोल गजुरेलका अनुसार बैठकमा दाहालले प्रस्ताव गरेकै नामबाट केन्द्रीय समितिमा मनोनयन गरिनेछ । ‘प्रस्तावित नाममध्ये ४७ जनाको अनुमोदन भयो, बाँकी पनि यिनै नामबाट मनोनीत हुनेछन्, केही दिनमै अध्यक्षले केन्द्रीय समितिलाई पूर्णता दिनुहुनेछ,’ गजुरेलले भने । यसअघि माओवादी केन्द्रका २ सय ४७ जना केन्द्रीय समितिमा थिए ।

बैठकमा दाहालले आंकाक्षी धेरै देखिएकाले केन्द्रीय समितिलाई पूर्णता दिन कठिन भएको सुनाएका थिए । ‘आगामी निर्वाचनमा सबैको भूमिका तय होस् भनेर केन्द्रीय समितिलाई पूर्णता दिने प्रयास भएको थियो तर केही नाममा विवाद भएपछि पूर्णता पाउन सकेन,’ दाहालनिकट एक केन्द्रीय सदस्यले भने । तर, अध्यक्ष दाहालले ८५ जना वैकल्पिक केन्द्रीय सदस्य बनाउने प्रस्ताव भने बैठकले पारित गरेको छ । कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने दाहालको प्रस्ताव थियो । त्यो काम पनि पार्टी हेडक्वार्टरले टुंग्याउने भएको छ । वैकल्पिक सदस्यलाई मतदानको अधिकार छैन ।

आसन्न स्थानीय तह निर्वाचनको मुखमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्दा विवाद उत्पन्न हुने र त्यसले चुनावी परिणाम नै प्रभावित पार्ने भएपछि माओवादीले पदाधिकारी चयन, पोलिटब्युरो, स्थायी समिति गठनको एजेन्डामा बैठक प्रवेश गर्न सकेन । १५ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षमा दाहाल छन् भने अन्य पद खाली छन् । विधानअनुसार केन्द्रीय समिति (३४५) को एकतिहाइ पोलिटब्युरो (११५ सदस्यीय) र पोलिटब्युरोको एकतिहाइ स्थायी समिति (३९) रहनेछ ।

विधानअनुसार अन्य १४ पदाधिकारी चयन हुन बाँकी छ । माओवादी विधानमा केन्द्रीय समितिमार्फत पदाधिकारी चयन हुने व्यवस्था छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सात, महासचिव, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष रहनेछन् । केन्द्रीय सदस्य युवराज चौलागाईंका अनुसार बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन पनि गर्न सकेन । कार्यविभाजनको जिम्मा नेताहरूलाई नै दिएको उनले जानकारी दिए । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार