देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दाहाल-नेपाल समूहले आज देशैभर प्रदर्शन गर्दै

0

काठमाडौं – संसद विघटन गर्ने सरकारी कदमको विरोध जनाउँदै आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहले आज मंगलबार देशैभर प्रदर्शन, जुलुसको आयोजना गर्ने भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन गर्ने नेकपाका नेताहरूले जनाएका छन् । सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरका कार्यकर्ता बानेश्वर चोकमा भेला भएर प्रदर्शन सुरू गर्ने कार्यक्रम तय भएको छ ।

विरोध प्रदर्शनमा अध्यक्ष दाहाल नेपाल लगायत शीर्ष नेताहरू सहभागी हुँदैछन् । अध्यक्ष दाहालको सचिवालयका अनुसार काठमाडौंका साथै अन्य जिल्लाबाट पनि नेता, कार्यकर्ता आउने कार्यक्रम छ । केन्द्रीय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।

बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छन् । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नपार्क र बागबजार क्षेत्रबाट पनि प्रदर्शन हुने नेकपा केन्द्रीय समितिले जनाएको छ ।प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद बढेको छ ।

भृकुटीमण्डपमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार