देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दाहाल–नेपाल समूहकाे ओलीलाई चेतावनी, ‘पूर्वप्रधानन्यायाधीशलाई नधम्क्याउ’

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहले आपत्ति जनाएको छ ।

दाहाल–नेपाल समूहले चार पूर्वप्रधानन्याधीशहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकले पूर्वप्रधानन्याधीसहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गरेको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।

संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वक्तव्य जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै आएका छन् ।

आइतबार मात्र राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै आलोचना गरेका थिए । राष्ट्रियसभामा सम्बोधन गर्दै ओलीले भने, ‘केही वर्ष न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि आफै न्यायालयमा छु जस्तो गरी केही पूर्व न्यायमूर्तिहरुले सडकमा ओर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारिरहनुभएको छ, वहाँहरुले दवाव दिने मनसायले काम गरिरहनुभएको छ ।’

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गरे । बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता श्रेष्ठले भने ‘प्रतिनिधिसभा विघटन बारे संविधानमा के व्यवस्था छ भन्नेबारे पूर्व प्रधानन्यायाधीशहरुले दिएको अभिव्यक्तिलाई लिएर धम्क्याउने कार्यप्रति भत्सर्ना गर्छौं ।’

यस्तै, अधिनायकवादी र निरंकुश चरित्र बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । सचिवालय बैठकले प्रधानमन्त्री ओलीले केही समययता प्रदर्शन गरेको चरित्रलाई अधिनायकवादी र निरंकुश रहेको निष्कर्षसहित त्यसप्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले अध्यक्ष दाहालको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको जानकारी दिए । पत्नी सीता दाहालको उपचारका लागि पुस २० मा मुम्बई गएका अध्यक्ष दाहाल पुस २५ मा फर्किएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार