देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दूध बेचेको पैसा नपाएपछि विरोधमा उत्रिए दुग्ध किसान

0

काठमाडौं – किसानलाई भुक्तानी दिलाउन सरकार र डेरी उद्योगीबीच पटक–पकटको सम्झौता कार्यान्वयन नभएपछि देशभरबाट दुग्ध किसान विरोधमा उत्रिएका छन् ।

दूध बेचेको सात महिनायताकै बक्यौता बाँकी रहेको जनाउँदै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडमा आबद्ध किसान कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।

संघअन्तर्गत १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्था आबद्ध छन् । यी संस्थाले करिब ६ लाख परिवारबाट औपचारिक रुपमा दैनिक करिब १२ लाख लिटर दूध संकलन र बिक्री गर्दै आएको तथ्याङ्क छ ।

किसानले पाउनुपर्ने बक्यौता ४ अर्बभन्दा बढी पुगेपछि संघमा आबद्ध किसान बिरोधमा उत्रिएका हुन् । विरोधस्वरूप शुक्रबार कालोपट्टी बाँधेर दूध बिक्री गरिएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

कुँवरका अनुसार शुक्रबारदेखि असार ४ सम्म कालोपट्टी बाँधेर दूध बेच्ने कार्यक्रम छ । यस अवधिमा माग सम्बोधन नभए असार ५ मा डीडीसीको केन्द्रीय कार्यालय, लैनचौरमा तालाबन्दी गरिने उनले बताए ।

हाल करिब १२ सय दुग्ध उत्पादक सहकारीले दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध दिन्छन् । दूध संकलन नियमित रहे पनि ७ महिनायता तिनको भुक्तानी रोकिएको छ । डीडीसीले ११ सय टन धूलो दूध र ८ सय ५० टन बटर मौज्दात रहेको जनाएको छ । धूलो दूध र बटर गरी १ अर्ब ५० करोडको पुँजी होल्ड भएर बस्दा किसानलाई पैसा तिर्न नसकेको बताउँदै आएको छ ।

संघका अनुसार डीडीसीले करिब २ अर्ब र निजी डेरीले साढे २ अर्ब बढी तिर्नुपर्नेछ । निजीको तुलनामा डीडीसीकै समस्या बढी देखिएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार