देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवाको दोहोरो पहल

0

काठमाडौं – एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई मनाउन लागेकै छन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएका छन्। त्यही भएर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट बढाएका छन्। देउवा र ओलीबीच मंगलबार भेटवार्ता भए पनि सहमति भने नभएको नेताहरूले बताएका छन्।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले एमसीसी र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। ‘प्रधानमन्त्रीजीले तपाईंहरूकै पालाको सरकारमा संसद्मा दर्ता भएको हो। अब पास गर्न पनि तपाईंहरूको सहयोग चाहिन्छ भन्नुभयो’, नेता खड्काले भने।

ओलीले पहिला आफ्ना माग सम्बोधन हुनुपर्ने अडान लिएको खड्काले सुनाए। ‘सभामुखलाई कारबाही हुनुपर्ने र पार्टीले पदमुक्त गरेका सांसदलाई कारबाही गरेपछि एमसीसीका विषयमा एउटा धारणा बनाउनेछौं भन्नुभयो। ठोस निर्णय केही भएन’, उनले भने।

एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो माग पूरा नभएसम्म अन्य विषयमा जान नसकिने स्पष्ट पारेको बताए। ‘प्रधानमन्त्रीले एमसीसी पास गर्न सहयोग माग्नुभयो। हामीले हाम्रा माग पहिला सम्बोधन हुनुपर्छ भन्यौं’, नेता रिमालले अन्नपूर्ण पोस्ट्सित भने, ‘मुख्य यिनै दुई कुरा भए।’

दुई नेताबीच माघ २३ यता तेस्रो भेट हो यो। ओली माघ २३ गते सात महिनापछि बालुवाटार गएका थिए। देउवा फागुन ५ गते ओली निवास बालकोट पुगेका थिए। देउवाले ओलीसहित नेतालाई सुरुमा एकसाथ भेट गरेका थिए। अन्तिममा केही मिनेट प्रधानमन्त्री र ओलीबीच मात्रै छुट्टै छलफल भएको स्रोतले बताएको छ।

‘प्रधानमन्त्रीले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनबाटै आफ्नो सरकारलाई असहयोग भएको भन्दै एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘हाम्रा पार्टी अध्यक्षले आफ्नो पार्टीले ६ महिनादेखि जायज मागहरू राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउनुभयो। ती माग पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने पुनः स्पष्ट पार्नुभएको छ।’

एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद्मा अवरोध गरिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन आयोगसँग मिलेर एमाले विभाजन गरेको आरोप पनि उसको रहँदै आएको छ। भेटवार्तामा एमालेबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष  विष्णुप्रसाद पौडेल र उपमहासचिव रिमाल सहभागी थिए। कांग्रेसबाट देउवासँगै उपसभापति खड्का र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेता सहभागी थिए। अन्नपुर्णपोष्ट दैनिक बाट ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार