देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवाले चढ्ने गाडी संसद्‍बाट ‘गायब’

0

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको गाडी बुझाएका छन् । एक महिनाअघि फिर्ता भएको भनिएको पुरानो गाडी पनि संसद् सचिवालयबाटै ‘गायब’ भएको छ ।

२०७४ मंसिरको चुनावबाट कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेपछि देउवाले संसद्बाट बा २ झ ४४८ नम्बरको गाडी लिएका थिए । २ हजार ५ सय सीसीको यो गाडी खासमा निर्वाचन आयोगको नाममा दर्ता छ । २०७० माघ ९ मा यातायात कार्यालयमा दर्ता गाडी आयोगसँग मागेर संसद् सचिवालयले देउवालाई दिएको थियो । तर, देउवाले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई २०७४ फागुन ३ मा निजी नम्बर प्लेटमा बदलेर बा १९ च ५५५ को रूपमा चढ्दै आएका थिए । मर्मत खर्च संसद्ले व्यहोर्दै आएको थियो ।

प्रधानमन्त्री भएपछि देउवाले प्रतिपक्ष नेताको हैसियतमा प्रयोग गरेको गाडी फिर्ता गर्नुपर्थ्यो, दुई महिनापछि भदौ २५ मा गाडी फिर्ता पनि गरे । तर, आश्चर्य संसद्बाट लगेको गाडीको सट्टा उनले प्रधानमन्त्री कार्यालयमा रहेको १४ वर्ष पुरानो गाडी पठाए । देउवालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले टोयोटाको नयाँ गाडी दिएको छ । अत्याधुनिक सुविधा सम्पन्न नयाँ गाडी मात्र होइन, प्रधानमन्त्री कार्यालयका विभिन्न गाडी देउवाका लागि तैनाथ छन् ।

तर उनले संसद् सचिवालयबाट लिएको नयाँ गाडी राखेर पुरानो गाडी किन पठाए ? ‘उहाँ प्रधानमन्त्री भएपछि संसद्ले उपलब्ध गराएको गाडी फिर्ता गर्नुपर्ने थियो, तर संसद्बाट लिएको गाडी सहज लागेकाले प्रधानमन्त्रीले राख्नुभएको हो । त्यसको सट्टामा अर्को गाडी संसद् पठाएका हौं,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । उनले प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको र पहिला प्रतिपक्षी नेताका रूपमा प्रयोग गर्दै आएको गाडी देउवाका लागि राखिएको र अहिले मर्मत भइरहेको बताए ।

फिर्ता गरेको १४ वर्ष पुरानो बा २ झ ४२३६ नम्बरको टोयोटा प्राडो जिप संसद् सचिवालयमा पनि छैन, कहिले र कसले लग्यो भन्ने अधिकारीहरूलाई थाहा छैन, कतै अभिलेख पनि छैन । खासमा प्रधानमन्त्री कार्यालयले पठाएर फिर्ता गरेको भने पनि अभिलेखमा त्यस्तो देखिँदैन । ‘हामीले उहाँलाई गाडी उपलब्ध गराएको रेकर्डमा देखिन्छ । संसद्बाट लगेको गाडीको सट्टामा अर्को गाडी फिर्ता गरेको भनिएको छ । तर, सवारी शाखाको रेकर्डमा देखिँदैन । फिर्ता भएको हो भने त्यो गाडी कहाँ कसले लग्यो भन्ने खुल्न सकेन,’ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

प्रधानमन्त्री कार्यालयले भने सचिवालयमा गाडी बुझाएको भर्पाइसमेत राखेको छ । प्रधानमन्त्री कार्यालयबाट प्राप्त सादा कागजमा भनिएको छ, ‘बा २ झ ४२३६ नम्बरको प्राडो जिप थान एक बुझिलियौं ।’ भदौ २५ गते २ बजेर ४५ मिनेटमा गाडी बुझिलिएको भनेर कागजमा संघीय संसद्को छाप लगाइएको छ । प्रवक्ता पाण्डे भन्छन्, ‘तर, त्यसको विवरण संसद्को सवारी शाखामा छैन । गाडी आएको र गएको कुनै विवरण छैन, यो छानबिनको विषय हो ।’ कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार