देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवा–नेम्वाङ भेटवार्ता : सत्ता सहकार्य होइन, संवैधानिक नियुक्तिबारे छलफल

0

काठमाण्डौं – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको दूतका रुपमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आइतबार देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । नेताहरुका अनुसार नेकपाको शक्ति संघर्षमा रहेका ओली र प्रचण्ड–माधव नेपाल दुबै समूहले कांग्रेसलाई आफू नजिक भएको सन्देश दिन खोज्नु स्वभाविक हो । किनकि भोलि साच्चिँकै नेकपामा फुट आएको अवस्थामा कांग्रेससँग मिलेर सरकार बनाउने चाँजोपाँचो मिलाएको सन्देश दिनसक्दा अर्को पक्षलाई दबाव पर्छ भन्ने राजनैतिक वृत्तमा चर्चा चुलिएको छ ।

स्रोतका अनुसार प्रचण्ड माधव समूहका एक नेताले कांग्रेसका एक नेतालाई बोलाएर ओली–देउवा भेटबारे सोधेका थिए । जतिबेला प्रचण्ड ओलीसँग भेटवार्ता गरिरहेका थिए, अर्का एक नेताले कांग्रेस नेतासँग कुराकानी गरिरहेका थिए । र, उनको मुख्य चासो ओलीले देउवासँग सहयोग मागे नमागेको थियो ।आइतबार ओलीका दूतका रुपमा नेम्वाङले देउवालाई भेटेपछि मिडियामा प्रधानमन्त्रीले देउवालाई गृह र अर्थ मन्त्रालयको प्रस्ताव गरेको प्रचारबाजी सुरु भएको छ ।

यो भेटको चाँजोपाँजो कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले मिलाएका थिए । त्यसैले नेम्वाङ्ग सँगै रिजाल पनि बुढानीलकण्ठ पुगेका थिए । स्रोतकाअनुसार सम्वादको सुरुमा नै देउवाले हतार–हतार संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका थिए । प्रतिनिधिसभा बैठक बोलाएर एजेण्डासमेत तय गरिसकेको अवस्थामा अधिवेशन अन्त्य गर्नु गलत भएको उनले बताए । तर, नेकपा संसदीय दलका उपनेता नेम्वाङ केही बोलेनन्, हाँसेर टारिदिए ।

त्यसपछि नेम्वाङले संवैधानिक अंगहरुको नियुक्तिका विषयमा प्रधानमन्त्रीले तपाईलाई भेट्नुस् भनेकाले आएको बताए । केही पहिले अध्यादेश ल्याएर आफूलाई बाइपास गर्न खोजेको होइन भन्दै देउवा त्यसमा पनि कड्किएको स्रोतको दाबी छ । यद्यपि अब संवैधानिक परिषद्को बैठक बसेर जान सकिने उनले बताए ।भेटका क्रममा देउवाको नेकपाको आन्तरिक विवादतर्फ लक्षित गर्दै भनेका थिए, कांग्रेस कसैको पक्ष विपक्षमा छैन । तपाईँहरुको कुरा चाँडै मिलाउनुस् है चाँडै ।’

बाहिर सत्ता सहकार्यको प्रस्तावको प्रचार भएको बारे भेटमा सहभागी नेता मिनेन्द्र रिजाल भन्छन्, ‘पार्टीको आन्तरिक विवादमा एउटा पक्षले अर्को पक्षलाई दबाव दिन कांग्रेस आफूसँग नजिक भएको देखाउन यस्तो प्रचार गरेको हुन सक्छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार