देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई कसैको सहारा लिनु पर्दैन’ – गगन थापा

0

काठमाडौैं – कांग्रेस महामन्त्री गगनकुमार थापाले गठबन्धनबिना नै कांग्रेसले आउँदो निर्वाचनमा ४५ लाख भोट ल्याउने दाबी गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनु पर्दछ भन्ने लाग्दैन ।’

कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनप्रति लचक देखिएका बेला कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशनबाट गठित नयाँ कार्य समितिको पदस्थापन कार्यक्रममा बोल्ने प्रमुख अतिथि महामन्त्री थापालगायत अन्य केन्द्रीय र जिल्ला तहका नेताहरुले चितवनमा गठबन्धन नगर्न अपिल गरेका थिए ।

‘रुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नु पर्दछ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ भन्ने कुरा मलाई लाग्छ । मलाई विश्वास छ पार्टीको नेतृत्वले यो कुरा बुझ्छ,’ महामन्त्री थापाको भनाइ थियो ।

चितवन कांग्रेसका पुराना नेतासमेत रहेका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा पार्टी केन्द्रले चुनावी गठबन्धन गरे विद्रोह हुने चेतावनी दिए ।

‘हामीलाई दुई–दुई पटक पेल्नु भयो । केन्द्रले अब पनि पेले सुख पाउने अवस्था छैन । यदि अब पनि हाम्रो चितवनको कुरा सुनिएन भने म केन्द्रीय सदस्य पनि बस्दिनँ,विद्रोह हुन्छ’। नेता गुरुङले चेतावनी दिए ।

केन्द्रीय प्रतिनिधि बनेर चितवनमा अभियान चलाउन आएका अर्का केन्द्रीय सदस्य अब्दुल सतारले आउँदा चुनावहरुमा चितवनलाई कसरी कम्युनिष्टमुक्त बनाउने भन्ने योजना बनाएर आफूहरु मैदानमा उत्रने बताए ।

चितवन कांग्रेसको गत हप्ता सम्पन्न १४ औं जिल्ला अधिवेशनले राजेश्वर खनाल सभापति रहेको नयाँ जिल्ला कार्य समिति गठन गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार