देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नयाँ वर्षमा काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाइने

0

काठमाडौँ – खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले नयाँ वर्षमा काठमाडौँवासीलाई मेलम्चीको पानी उपहार दिने बताएका छन् ।

बुधबार काठमाडौँमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले २०७९ सालको नयाँ वर्षमा शुभकामना सँगै काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउने बताएका हुन् ।

मन्त्री चौधरीले गत असार १ गतेको बाढी र पहिरोले सखाप पारेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलका संरचनालाई अस्थायी रुपमा बनाएर काठमाडौँ पानी ल्याउने तयारी थालेको बताए । उनले भने, ‘विज्ञहरूले तीन देखि साँढे तीन महिनामा पानी खुवाउन सकिने प्रतिवेदन दिएका छन्, मेरो नयाँ वर्षमा काठमाडौँवासीलाई पानी खुवाउने योजना छ ।’

‘त्यसका लागि ‘फास्ट ट्रयाक’मा काम गर्नुपर्ने अवस्था रहेको र त्यसमा नीतिगत समस्या भने छ’, मन्त्री चौधरीले भने ।  ‘त्यसका लागि अर्थ मन्त्रालय र प्रधनमन्त्रीज्यूसँग कुरा भइरहेको छ ।’ मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि निकै चासो राखेको उनले सुनाए ।

मन्त्री भएपछि पहिलोपटक गत सोमबार चौधरी मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल र पहिरो सुरु भएको ठाउँको अनुगमनका लागि सिन्धुपाल्चोक पुगेका थिए ।

बाढी गएको ५ महिना बितिसक्दा पनि मुहानस्थल जाने बाटोसम्म आयोजनाले खोल्न सकेको थिएन । खानेपानी मन्त्री जाने भएपछि हेलम्बु गाउँपालिकाले हतार हतारमा मुहानस्थलसम्म जाने बाटो बनाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार