देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नवीनतम उपकरणसहित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा

0

विर्तामोड – “कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन, न आत्तिनु ।” डा. वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम मिश्रलाई सम्झाए । झापा विर्तामोड– ८ गरामुनिका २९ वर्षीय मिश्रले बरर आँखाबाट आँशु झारे । “म यहीँ छु । मेरो त घाँटी नै काटिएको थियो । मलाई एकपटक हेर त !” समाजसेवी दुर्गा प्रसाईंले उनलाई आँशु पुछिदिँदै थप सान्त्वना दिए ।
युवापुस्ताका चर्चित क्यान्सररोग विशेषज्ञ डा यादवका अनुसार मिश्रलाई ठूलो आन्द्रामा क्यान्सर पुष्टि भएको थियो । क्यान्सरका सेललाई नष्ट गर्न पहिलो पटक ‘रेडियोथेरापी’ दिइँदै थियो । उनलाई ‘ट्र्युब विन लाइनर एक्सिलेटर’ अत्याधुनिक उपकरणमार्फत रेडियसन दिइएको थियो ।

अमेरिकामा निर्मित अत्याधुनिक सो उपकरण संसारका उत्कृष्ट कहलिएका अस्पतालले प्रयोगमा ल्याएका छन् । “रेडियसन दिने पछिल्लो पुस्ताको आधुनिक उपकरण जुन देशमा गए पनि उही हो”, डा यादवले भने । भारतको मेदान्त क्यान्सर अस्पताल छाडेर केही गरौँ भन्ने भावनाका साथ उनी स्वदेश फर्किएर पूर्वाञ्चलमा क्यान्सर अस्पताल स्थापना गर्ने अभियानमा जोडिएका थिए ।

अस्पतालले बुधबारदेखि औपचारिकरुपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । पहिलो दिन २७ जना बिरामीले थेरापीका लागि नाम दर्ता गराएका छन् । “यो हाम्रो सेवा दिने अवसर हो, सेवामा केही कमि रहँदैन । उपकरण उही हो, ज्ञान उही हो । अमेरिका गए पनि पाउने सुविधा यही हो ।” अस्पतालमा मेडिकल निर्देशकसमेत रहेका यादव भन्छन् ।

बिएण्डसी अस्पताल हाताभित्र निर्माणाधीन आधुनिक भवनमा अस्पतालले ‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने नाराका साथ सेवा थालनी गरेको हो । सेवा सञ्चालनमा आएपछि पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्य देश जानुपर्ने अवस्थासमेत अन्त्य भएको बताइको छ ।

क्यान्सर पहिचान तथा उपचारका लागि आवश्यक पर्ने केही उपकरण अस्पतालले सञ्चालनमा ल्याइसकेको छ । केही द्रुत गतिमा जडान कार्य जारी राखेको छ । ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाउने अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुहुन्छ ।

शरीरभित्रमा ट्युरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडाँै उपत्यका बाहिर पहिलो पटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ ।

अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् । उपकरणको मूल्यमात्र करिव एक अर्बभन्दा माथि र समग्र अस्पतालको पूर्वाधारमा रु चार अर्ब खर्च हुने जनाइएको छ ।
पछिल्लो समय मेदान्त तथा राजिवगान्धी क्यान्सर अस्पतालका बिरामीमध्ये तेस्रो सङ्ख्यामा नेपाली हुने गरेको बताइन्छ । नेपालबाट ती दुई अस्पतालमा मात्र वर्षेनी कति नेपाली क्यान्सर उपचारमा जान्छन् भन्ने तथ्यांक छैन । झापा जनस्वास्थ्य स्वास्थ्य कार्यालयबाट गत वर्षमात्र ४०० क्यान्सर रोगीले सिफारिस लिएका थिए ।

नेपालमा वर्षेनी विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिशत मात्र जोगिएका छन् । ७० प्रतिशतको अकालमा मृत्यु हुने गर्दछ । विकसित देशमा यो अवस्था ठिक उल्टो रहेको छ ।

रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार