देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निरन्तर तेस्रो कारोबार दिन ओरालो लाग्यो नेप्से

0

काठमाडौं – सेयर कारोबार हुने साताको अन्तिम दिन पनि धितोपत्र बजार ओरालो लागेको छ । पछिल्लो दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो ।

सेयर कारोबार मापन नेप्से परिसूचक आज २२ दशमलव ७० अंकले घटेर २ हजार ३२ दशमलव ५१ बिन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा आज कारोबार भएका लघुवित्त बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो । सो उपसमूहको परिसूचक यस दिन ०.२८ प्रतिशत बढेको छ

। यस दिन व्यापार र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी घटेको छ भने होटल, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी घटेको छ ।

नेप्से ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा साढे एक अर्ब रुपैयाँले वृद्धि भएको छ । हिजो ६ दशमलव २० अंकले घटेर २ हजार ५५ दशमलव २२ बिन्दुमा पुगेर बन्द भएको नेप्सेमा ५ अर्ब १४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कुल १ सय ९५ कम्पनीका ६१ हजार ६ सय ४ कारोबारबाट एक करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज कारोबार भएका १२ मध्ये ११ वटा कम्पनी समूहको उपसूचक नकारात्मक देखिएको छ ।

सबैभन्दा बढी व्यापार कम्पनी समूहको उपसूचक २ दशमलव ७९ प्रतिशतले घटेको छ । कारोबारको अन्तिम दिन आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ८० करोड २५ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी, यसदिन नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख र नेपाल बैंकको ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार