देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचन आचारसंहिता आजैदेखि-प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिहरू प्रचारप्रसारमा हिँड्न नपाउने

0

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज शनिबारदेखि लागू गरेको छ ।

आगामी २०७९ साल ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो ।

निर्वाचन आयोगले शुक्रबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको हो । आयोगले शुक्रबार पत्रकार सम्मेलनगर्दै निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि ३ चैतमा आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो ।

आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दल, व्यक्ति तथा सरकारी निकायलाई बाध्यकारी हुनेगरी निर्वाचन आचारसंहिता लागू गरेको छ । यो आचारसंहिता, प्रधानमन्त्री, मन्त्री, सबै राष्ट्रसेवक कर्मचारी, संवैधानिक निकाय, सबै सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधि र उच्चपदस्थहरूका लागि लागू हुने आयोगले जनाएको छ ।

आयोगद्वारा लागू गरिएको आचारसंहिताअनुसार प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक निकायमा रहेका पदाधिकारीले सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न पाइनेछैन । यसैगरी आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुनेगरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री र सूचना बिगार्न पाइनेछैन ।

यसैगरी राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट , टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरनजस्ता सांकेतिक सामग्री उत्पादन गर्न वा प्रदर्शन गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ ।

यस्तै, कुनै व्यक्तिको चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सही ढंगले गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आग्रह गरेका छन् ।

त्यसैगरी, मौन अवधिमा मत माग्न, प्रचार गर्न नपाइने, मादकपदार्थको बिक्रीवितरण र सेवनमा पूर्ण निषेध गरिएको छ । आयोगले उम्मेदवारले राजीनामा दिनुपर्ने भन्ने विषयमा अदालतमा मुद्दा रहेकाले त्यस’बारे कुनै निर्णय गर्न नपरेको स्पष्ट पारेको छ ।

आचारसंहिता उल्लंघन भए प्रक्रियाबमोजिम उम्मेदवारको उम्मेदवारीसमेत रद्द गर्न सकिने चेतावनी आयोगले दिएको छ ।

लागू गरिएको आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसारको सिलसिलामा ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इन्चसम्म आकारको एउटै रंगको पर्चा, उम्मेदवारको कार्यालयमा तीन गुणा तीनसम्म दलको झन्डा र सोही नापको चुनाव चिह्न, उम्मेदवारले ‘ए फोर साइजको आफ्नो व्यक्तिगत पहिचानको विवरण वितरण गर्न सकिने व्यवस्था गरिएको छ ।

दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा लगायतका कार्यक्रम गर्दा निर्वाचन अधिकृतको अनुमति लिई सोहीबमोजिमको आकार र संख्याको दलको झन्डा र चुनाव चिह्न मात्र प्रयोग गर्न आयोगले आग्रह गरेको छ । १८ वर्ष अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई प्रचारमा प्रयोग गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ ।

यस्तै, आचारसंसहिताअनुसार समाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन हुँदैन । निर्वाचनलाई प्रभावित पार्नेगरी कुनै पनि सञ्चारमाध्यमले कुनै प्रकारको मत सर्वेक्षण गर्न र प्रकाशन गर्न पाउनेछैन । निर्वाचनलाई प्रभाव पार्नेगरी कसैको पक्षविपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न पाइनेछैन ।

केन्द्रीय सरकार, प्रदेश सरकारका मन्त्री तथा वहालवाला जनप्रतिनिधिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् तर आफंै उम्मेदवार भएका जनप्रतिनिधिले भने आफ्नो प्रचारप्रसार गर्न पाउनेछन् ।

प्रधानमन्त्री, मन्त्री तथा सरकारका कुनै पनि उच्च अधिकारीले कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा सोका लागि अनुदान दिनेजस्ता कार्य गर्न पाइनेछैन । यसैगरी सबै प्रकारका सरुवा बढुवामा रोक लगाइएको छ । नयाँ पद सिर्जना गर्न वा रिक्त पदपूर्ति गर्न तथा सबै प्रकारका आर्थिक सहायता दिनसमेत बन्देज लगाइएको छ ।

निर्वाचनका काममा बाहेक अन्य सबै कर्मचारीको सरुवा तथा पदस्थापनामा पनि रोक लगाइएको छ । विदेश भ्रमणमा पनि रोक लगाइएको निर्वाचन आयोगले जनाएको समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार