देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभापति देउवाले भने, ‘सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन’

0

(भवनाथ आचार्य/काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको आशा जगाउँन पूर्ण रुपमा असफल भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सभापति देउवाले यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको र यो सरकार महामारी नियन्त्रण गर्ने व्यापक तयारी गर्न पूर्णरुपले चुकेको बताए ।

कोरोना महामारीका बेला सरकारले जनतालाई सबैलाई आफू अभिभावक भएको अनुभूति गराउन नसकेको उनले बताए । सरकारका कार्यक्रमले स्रोत साधनको समुचित व्यवस्थापन गरी समस्याको उचित समाधान गर्नुपर्नेमा तर सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको उहाले बताए । सभापति देउवाले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दुखप्रति कुनै संवेदना नभएको आरोप लगाए ।

सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै नभएको भन्दै उनले भने, ‘सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पिडा बुझ्न सक्ने हृदय छैन । सरकारसँग यो अप्ठेरो बेला भविष्यकालागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षिय योजनाको कोरा कल्पना जस्तो देखिन्छ ।’

कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा खटिएका स्वास्थकर्मीको सुरक्षा उपकरण लगायत आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, विश्वसनिय परिक्षण किटको अभाव हुनु, अस्पतालमा भेन्टीलेटर लगायत अन्य उपचार सामग्रीको आपूर्ति नहुनु, कोरोना प्रभावबाट मर्कामा परेकालाई उचित राहतको व्यवस्था नहुनु, सिमाना बाहिर बिचल्लीमा रहेका र देश भित्र नै पनि घरबाहिर असहाय अवस्थामा रहेका नागरिकलाई सुरक्षित रुपमा घर पुऱ्याउने कुनै योजना नहुनुले जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनले बताए ।

देउवाले भने, ‘म प्रश्न गर्न चाहन्छु सरकारले लकडाउनको यो अबधीमा के तयारी गर्यो ? परिस्थितिको गम्भीरता प्रति सरकार संवेदनशिल हुन नसकेको दृष्टान्त हो तयारी विहिनता । विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका छन । भारतिय सिमा नाकामा हजारौं नागरिक बिचल्लीमा परेका छन । तीनले सरकारबाट सुरक्षित रुपमा घर फर्किने वातावरण र सहजीकरणको अपेक्षा गरेका छन् । तीनका बारेमा नीति कार्यक्रममा ठोस योजनाको अभाव छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले स्वास्थ सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न, पीसीआर परीक्षणको दायरा व्यापक रुपले समुदाय स्तरमा पुर्याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहतको ब्यवस्थित प्याकेज ल्याउन र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएर मापदण्डयुक्त क्वारेन्टाइनमा ब्यवस्थित रुपले राखेर परीक्षण पश्चात् घर पुर्याउने बन्दोबस्त मिलाउन सरकार समक्ष माग गरेका छन् ।

नीति तथा कार्यक्रममा सरकार आत्म प्रशंसामा रमाएको र विगत दुई वर्षमा निकै काम गरेको दाबी गरेर जनतालाई भ्रममा पार्न खोजेको भन्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत दुई वर्षमा नीति तथा कार्यक्रम पुनः अध्ययन गर्न आग्रह गरे । देउवाले भने, ‘प्रधानमन्त्री ज्यूलाई विगत दुई वर्षका नीति कार्यक्रम पुनः एक पटक पढ्न अनुरोध गर्दछु । जस्ले नयाँ नीति कार्यक्रमका असत्य दावालाई उजागर गर्नेछ ।’

वर्तमान सरकारले गत वर्षहरूमा ल्याएका नीति तथा कार्यक्रमका योजना पूरा नहुँदै तुहिएको देउवाको भनाइ छ । पुँजीगत खर्च न्यून भएका घटनाले सरकारले दाबी गरेको विकासको गति तीव्र भएको भन्ने कुरालाई गिज्याइरहेको उनले आरोप लगाए । एमसीसी जारी अधिवेशनमा पेश गर्न र पारित गर्न देउवाले माग गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार