देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नुन, चिनी लगायत उपभोग्य वस्तुको अभाव नभएको सरकारको दाबी

0

(काठमाडौं) – चीनको वुहानबाट उत्पन्न भएको कोरोना भाइरस कोभिड १९ विश्वव्यापी रुपमा फैलिएपछि विश्वको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । कोभिड १९ को संक्रमणको मौका छोपी व्यापारीहरु उपभोग्य वस्तुको कृतिम अभाव सृजना गरेपछि सरकारले कालोबजारी गर्ने व्यापारीमाथि कारबाही थालेको छ । दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले त्यस्ता वस्तुको कारोवार गर्ने व्यवसायीसँग दैनिक छलफल समेत गर्दै आइरहेको छ ।

व्यापारीहरुले उपभोग्य वस्तुको कृतिम अभाव सृजना गरी महँगोमा बिक्री गर्न थालेपनि आम उपभोक्ता उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा गर्न थालेका छन् । खाद्यन्न, ग्यास नुन, चिनी लगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेकाले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।

अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले नुन चिनी लगायत वस्तुको अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको जनाएको हो ।

उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रमुख ब्रजेशकुमार झाले करीब १० महिनालाई पुग्ने नुन मौज्दात रहेको जानकारी दिए । कर्पोरेशनसँग एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात छ । अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ ।

नुनको आयातमा कुनै व्यवधान नभएको पनि कर्पोरेशनले जनाएको छ । यसैगरी कर्पोरेशनले चिनीको पनि पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कर्पोरेशनसँग करीब ५ महिनालाई पुग्ने १० हजार मेट्रिक टन चिनी मौज्दात रहेको विभागीय प्रमुख झाले बताए । हाल २ हजार ५ सय मेट्रिक टन चिनी गोदाममा रहेको छ भने, सात हजार ५ सय मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको उनले जानकारी दिए ।

नेपालका चिनी उद्योगसँग एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६ सय ६९ मेट्रिक टन चामल मौज्दात रहेको जनाएको छ । त्यस्तै दुर्गम तथा हिमाली जिल्लामा चार हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको छ । कम्पनीले फागुन दोस्रो सातासम्म १९ हजार ५ सय २२ मेट्रिक टन धान खरिद गरेको छ ।

सरकारले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा पुनः आग्रह गरेको छ । उपभोग्य वस्तुको अनावश्यक भण्डारण गर्ने प्रवृत्ति मौलाएको भन्दै मन्त्रालयले त्यस्ता वस्तुको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्थामा कुनै व्यवधान नरहेको स्पष्ट पारेको थियो ।

अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन सरकार सचेत रहेको मन्त्रालयको भनाइ छ । कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यवृद्धि गर्ने तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्ने विरुद्ध सरकारले कारबाही समेत थालेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार