देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा विवाद ‘ज्यूँ का त्यूँ’

0

काठमाडौं – सत्तारुढ दल नेकपाभित्रको विवाद केही दिन यता मथ्थर हुँदै गएको चर्चा चलिरहेपनि अवस्था भने त्यस्तो देखिएको छैन। साउन २ गते सम्मलाई स्थायी समिति बैठक स्थगित गरी बाढी पहिरोबाट समस्यामा परेकाको उद्धार र राहतमा लाग्न निर्देशन गरेको नेकपाभित्र दुई अध्यक्षका बीच बिहीबार यता कुनै संवादसमेत भएको छैन।

प्रधानमन्त्री केपी ओली सरकारको दैनन्दिन काममै व्यस्त देखिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल दुई दिन चितवन बसेर सोमबार मात्र काठमाडौं फर्केका छन्।

पार्टीका शीर्ष नेताका बीच संवाद हुन नसकेपनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार वरिष्ठ नेता माधव नेपालको भेटवार्ता भएको थियो। सोही दिन महासचिव विष्णु पौडेल र वरिष्ठ नेता नेपाल बीच भेटवार्ता, आइतबार वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम बीच भेटवार्ता भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले दिनहुँ पार्टी नेताहरुसँग अनौपचारिकरुपमा छलफल गरिरहेका छन्। नेकपाभित्रको विवादमा समाधान कसरी खोज्ने भन्ने विषयमै छलफल केन्द्रित रहेको नेताहरुको भनाइ छ।

प्रधानमन्त्री ओलीले पार्टीको संस्थागत निर्णयका आधारमा भन्दा आफ्नो गुटको सल्लाहमा सरकार चलाएको पूर्व प्रधानमन्त्री झलनाथ खनालको आरोप।

दाहालले सोमबार गृहजिल्ला चितवनवाट फर्किएपछि आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधव नेपालसँग पनि छलफल गरेका छन्। दुई नेताबीच भएको छलफलमा नेपालले राष्ट्रपति र महासचिव पौडेलसँगको छलफलका विषयमा कुरा राखेका थिए भने दाहालले पनि चितवनमा आफूले बोलेको अभिव्यक्ति र पार्टीमा देखिन खोजेको नयाँ परिस्थितिका बारेमा छलफल गरेको दाहालको सचिवालयले जनाएको छ।

यही सरकार रहे नेकपा सखाप  : खनाल

पार्टीभित्रको जारी स्थायी समिति बैठकले विवाद समाधानको सूत्र के फेला पार्छ भन्ने अन्यौल रहिरहेकै बेला नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पार्टीले प्राप्त गरेको झण्डै दुई तिहाइ खाइसकेको र अझै यही सरकार चलिरहे अर्काे चुनावमा नेकपा समाप्त हुने बताएका छन्। साहना प्रधान स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको नेकपाको आजको समस्या के हो ?  र समाधान के ?  विषयक भर्चुअल छलफल कार्यक्रममा खनालले ओलीले पार्टीमा फुटको त्रास देखाएर सत्तामा टिक्न खोजिरहेको र त्यसरी ओलीले सरकार टिकाइराखे पार्टी सखाप हुने बताएका हुन्।

नेकपाका अगाडी अब तीन ओटा भविष्य देखा परेको भन्दै खनालले यथास्थितिमा रहिरहे नेकपा रुट आउट हुने बताएका हुन्। ‘नेकपाको जनमत समाप्त हुन्छ। अहिले नै आधा जनमत खुम्चिसकेको छ। प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनु भएको छ। यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ। ७१ वर्षको कम्युनिष्ट पार्टी धरासायी हुन्छ।’

उनले सरकार पुनर्गठन गर्ने, नीति कार्यक्रम सुधार गरी बाँकी अवधीमा जनताका बीच लोकप्रिय काम गरेर जान सकेमात्र आउने चुनावमा पार्टीले फेस गर्न सक्ने र बहुमत ल्याउन सक्ने पनि बताए। खनालले भने, ‘अब त्यसलाई सुधार गर्न नसकी यथास्थितिमा बस्यौं भने अनिश्चितता तिर जान्छौं। सही नीति लिन सकेनौं भने भूराजनीतिक कारणले कम्प्युनिष्ट पार्टी मात्रै होइन कुनै पनि राजनीतिक शक्ति टिक्न सक्दनौं।’

खनालले अहिले स्थायी समितिभित्र पुँजीवाद पन्थ र समाजवाद पन्थ बीचको अन्तरसंर्घष चलिरहेको बताए। ओलीले सरकार पार्टीको संस्थागत निर्णयका आधारमा नचलाएको भन्दै उनले आफ्नै गुटको आधारमा मात्र चलाइरहेको आरोप लगाए। कार्यक्रममा विश्लेषक खगेन्द्र प्रसाईले नेकपाभित्र व्यक्तिको शैली, स्वभावमा मात्र समस्या खोजिन थालियो भने त्यसले समस्या समाधान नहुने बताए। अन्नपुर्ण पोष्ट बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार