देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा सचिवालय बैठक, ओलीको एजेण्डा उठाउन नपाइने

0

काठमाण्डौं – नेकपाको सचिवालय बैठक बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना हुने भएको छ । बहुमत सदस्यहरुले मंगलबार अपरान्ह अध्यक्ष केपी ओलीलाई जानकारी गराएर मिति तय गरेका हुन् । त्यसअघि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्रीले हतारमा बैठक नबोलाउन आग्रह गरेका थिए । स्रोतका अनुसार ‘सहमति होस् वा विमति,सचिवालयको बैठक दुई दिनपछि हुने पक्का गरी बहुमत सदस्यहरु उठेका छन् ।’

अर्को एक स्रोतका अनुसार धुम्बाराहीमा मंगलबार अपरान्ह सचिवालयको अनौपचारिक बैठक बस्नुअघि प्रधानमन्त्रीले बैठक बोलाउने सम्बन्धमा केही लचकताको संकेत देखाएका थिए । तर,आफ्नो बारेमा कुनैपनि बैठकमा एजेण्डा बनाउन नहुने भन्दै उनले रिजर्भेशन राखेका हुन् ।आफ्नो बारेमा कुनै एजेण्डा नउठाउने भए अध्यक्ष ओली सचिवालय बैठक कालागी तयार रहेको श्रोतको दाबी छ ।

मंगलबारको अनौपचारिक सचिवालय बैठकमा स्थायी समितिको तत्काल बैठक बोलाउनुपर्ने एजेण्डामा बहुमत सदस्यहरु सहमत देखिएका थिए । यसअघि शनिबारको अनौपचारिक बैठकपछि अर्को बैठक आह्वानको लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्षलाई दुई दिनको लिखित अल्टिमेटम दिईएको थियो । त्यसको म्याद सकिइसकेको । सचिवालयका बहुमत सदस्यहरु कुनैपनि हालतमा विधि र पद्धतिसंगत ढंगले अघि बढ्ने विषयमा पछि नहट्ने देखिएपछि बालुवाटारले बैठक आह्वानको लागि लचिलो हुने संकेत देखाएको बताइएको छ ।

मंगलबार बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री निकटहरुको बैठकमा समेत सोसम्बन्धमा विस्तृत छलफल भएको थियो । भेलाले वर्तमान अवस्थामा आफूहरुको अडानले अन्ततः आफैलाई हानी पुर्याउने ठहर भएपछि बैठक बोलाउने तर,प्रधानमन्त्री तथा अध्यक्षको बारेमा कुनैपनि एजेण्डा बनाउन नहुने जिकीर लिनुपर्ने निश्कर्ष निकालेको हो ।

यता,काठमाडौंमा पार्टीको बैठकमा उपस्थित हुन अनकाउँदै आएका प्रधानमन्त्री बुधबार संखुवासभाको किमाथांका र चेपुवा बस्ती हुँदै अरुण ३ को कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार