देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि रुस इच्छुक

0

काठमाडौं – नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि रुसले इच्छा देखाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री पुनसँग शिष्टाचार भेटवार्ता गर्दै ऊर्जा क्षेत्रमा लगानीका लागि इच्छा देखाएको हो ।

मन्त्री पुनसँगको भेटमा राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले विशेष गरी जलविद्युतमा लगानी गर्न सकिने बताएका हुन् । रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए ।

त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ । राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरण सम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावना बारे मन्त्री पुनसँग चासो राखेको थियो । यस्तै नेपालमा विद्युत् र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यता बारे पनि टोलीको चासो थियो ।

सो क्रममा मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिए । बढी भएको विद्युत् निर्यात गर्न भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको उनले बताए । हालसम्म नेपालमा उत्पादित विद्युत् सरकारी कम्पनी (नेपाल विद्युत् प्राधिकरण) खरिद गरी वितरण गर्दै आएको छ ।

आगामी दिनमा स्वदेशी वा विदेशी लगानीमा निर्माण हुने आयोजनाको विद्युत् सिधै बाह्य बजारमा पठाउन सक्ने गरी लचिलो कानूनी प्रावधानको समेत व्यवस्था गरिएकाले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको उनको भनाइ थियो ।  मन्त्री पुनले विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युतमा लगानी गर्न सक्ने भन्दै रुसी लगानीकर्तालाई नेपालमा स्वागत गर्ने उल्लेख गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार