देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालको एउटै तालमा भेटिए ३१ प्रजातिका जलपन्छी

0

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी देखा परेका छन् । जलपन्छी गणनाका क्रममा एकै तालमा धेरै प्रजातिका जलपन्छी देखा परेका हुन् । पुरैनी ताल जलपन्छीका लागि प्रख्यात रहेको छ ।
जलपन्छी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भँुडिफोर गरुड, कैले टाउके हाँसलगायत देखा परेको पन्छीविज्ञ हिरुलाल डगौराले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघलगायत कार्यालय तथा संस्थाका प्रतिनिधिले जलपन्छी गणनाको कार्यलाई अगाडि बढाएका हुन् ।

“वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी जलपन्छी अनुगनको कार्य गरिरहेका छौँ”, डगौराले भने, “कुनै क्षेत्रमा स्थलगत रुपमा पुगेर र कुनै ठाउँमा डुङगालगायतमा चढेर समेत अनुगमन भइरहेको छ ।” बासस्थानमा सुधार र आहारा प्रजातिको संरक्षणमा टेवा पुगेपछि विगतका वर्षहरुको तुलनामा जलपन्छीको संख्या उत्साहजनक देखिएको उनको भनाइ छ ।

जनवरी ४ देखि शुरु गरिएको जलपन्छी गणनाका क्रममा रानीताल, तारा ताल, कालिकिच ताल, बेदकोट, बन्दा ताल, पुरैनी ताल, प्यारा ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपन्छी अनुगमनको कार्य गरिएको छ । गणनाको कार्य जनवरी १९ तारिखसम्म जारी रहने छ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको वितरण र अवस्था पत्ता लगाउन, संख्याको अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जलपन्छीको अनुगमन र गणनाको कार्य हुँदै आएको छ ।

रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार