देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालद्वारा मौरिसस १-० ले पराजित

0

काठमाडौं – नेपालले मैत्रीपूर्ण फुटबल खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले मौरिससमाथि १-० को जित निकाल्दा सुजल श्रेष्ठको गोल निर्णायक भयो ।

सुजलले खेलको १०औं मिनेटमै टिमलाई अग्रता दिलाएका थिए । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर गोल हुनबाट जोगाए ।

लगत्तै नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । १३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान चेम्जोङले दाया डाइभ गर्दै बचाएका थिए ।

यसअघि शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेल खेलेको टिमबाट नेपाली टिममा ६ खेलाडी परिवर्तन गरिएको थियो । पहिलो खेल खेलेका कप्तान किरणसहित दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, अन्जन विष्टले भने दुवै खेलमा पहिलो रोजाईमा खेले ।

दोस्रो हाफको शुरुमै मुख्य प्रशिक्षक अलमुताइरीले डेब्युटान्ट डिफेण्डर नविन गुरुङ र फरवार्ड आशिष लामाको स्थानमा मनिष डाँगी र विमल घर्ती मगरलाई मैदान पठाएका थिए । त्यसपछि पुजनले डिफेन्समा झरेर खेले ।

दोस्रो हाफ तनावपूर्ण बन्दा मरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाए । ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए ।

यस्तै ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए । अन्तिम दश मिनेट मरिसस ९ खेलाडीमा समेटिएर खेल्दा नेपालले पनि दश खेलाडीमा रहेर खेलेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार