देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा एकैदिन २०२० जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २०२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमित मध्ये ६३९ महिला र १ हजार ३ सय ८१ जना पुरुष रहेका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २०२० जनालाई संक्रमण देखिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४ सय ५८ जनाको स्वाबको नमूना परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३७३ परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन् । उपत्यकका तीन जिम्लामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनालाई  कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ८ सय ७१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ । मन्त्रालयका अनुसार  हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७३७ जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेको छ ।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार