देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकैदिन १७० थपिए

0

(काठमाडौं) – नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ । कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको जानकारी दिए ।

क्वारेन्टाईनमा बस्नेको संख्या पनि दिनुहँ बढ्दै गएको उनले बताए । हालसम्म नेपालमा कोरोना संक्रमण देखिएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ । उपचारपछि २ सय ६ जना निको भएका छन् । पछिल्लो समय थप १९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २ सय ६ पुगेको डा. देवकोटाले जानकारी दिए ।

कोशी अस्पतालको प्रयोगशाला, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल, नेपालगञ्जको भेरी अस्पताल, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १ सय ७० जनामा संक्रमण देखिएको हो ।

शुक्रबार थपिएका संक्रमित मध्ये झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ जनाको पीसीआर विधिबाट नमूना परीक्षण भएको छ ।

नेपालमा हालसम्म १ लाख ६९ हजार ६ सय ३२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ६४ हजार १ सय ५४ जनाको पीसीआर र १ लाख ५ हजार ४ सय ७८ जनाको आरडीटी विधिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार