देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा थप २ जनामा कोरोना संक्रमण देखियो

0

(काठमाडौँ) – नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बिहीबार २ जना कोरोना संक्रमित थपिएका हुन् । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित ९ जना उपचारपछि निको भएको जानकारी दिए । पाटन अस्पतालमा उपचाररत पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर घर फर्केको उनले जानकारी दिए ।

बुधबार पनि तीन जनामा संक्रमण देखिएको थियो । बुधबार पीसीआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षीय तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

मन्त्रालयका अनुसार बुधबार देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् । संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु रहेको बताइएको छ ।

बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ वटा नमूना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन् । कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन् । काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन् । क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार