देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने

0

काठमाडौं – नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसँग खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

एसियन छनोट अन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासँग तथा जुन ७ मा जोर्डनसित खेल्नेछ ।

कोरोना भाइरसको संक्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो ।

समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंकसहित चौंथो स्थानमा छ ।

नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । नेपालले कुवेतसँग दुई खेल तथा जोर्डन र अष्ट्रेलियासँग एक/एक खेल हारेको थियो । चाइनिज ताइपेई अंकविहीन अवस्थामा रहँदै समूह ‘बी’ को पाँचौं स्थानमा छ ।

विश्वकप छनोट खेलका लागि तयारी गर्न एन्फाले भोलिबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सञ्चालन गर्दैछ । बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडीलाई बोलाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार