देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन – जयशंकर

0

काठमाडौं- नेपाल सरकारले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन्।

शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रियासमेत दिएका छन् ।

भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडि बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी समेत गरेका छन् ।

इण्डियन एक्सप्रेसले जयशंकरलाई उधृत गर्दै लेखेको छ, ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।’

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो। नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृतिसमेत दिइसकेको छ।
 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार