देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

0

काठमाडौं – पछिल्लो केहीदिन यता सेयर बजारले दिनहुँ नयाँ कीर्तिमान कायम गर्दै आएको छ । पछिल्लो ४ दिन लगातार नयाँ रेकर्ड बनाउँदै आएको नेप्से सूचकले मंगलबार पनि २८ अंकले बढेर अलटाइम हाइको रेकर्ड बनाएको छ ।

सेयर कारोबार हुने साताको तेस्रो दिन आज नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज २८ दशमलव ३१ अंकले बढेर हालसम्मकै उच्च २ हजार २ सय ६७ दशमललव ७३ बिन्दुमा पुगेको छ ।

यसअघि हिजो नेप्से ३ अंकले बढेर २ हजार २ सय ३९ दशमलव ४२ बिन्दुमा पुगेको थियो । नेप्सेमा सुधार देखिएपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा ५४ करोड रुपैयाँ गिरावट आएको छ । नेप्सेमा हिजो ५ अर्ब ५२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार इन्ट्रा डे कारोबारमा सामान्य करेक्सन देखिएको नेप्सेमा अन्तिममा सामान्य अंक बढेर बन्द भएको थियो । मंगलबार पनि नेप्सेमा २८ अंकको उछाल देखिएको हो । पछिल्लो समय बैंकिङ्ग समूहको लगानीकर्ताको आकर्षण बढ्दै गएकोमा मंगलबार भने बीमा र हाइड्रोपावर कम्पनीहरुमा आकर्षण बढेको छ ।

नेप्सेमा मंगलबार कुल २ सय २ कम्पनीको ४५ हजार ५ सय ६९ कारोबारबाट १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर किनबेच भए । जसअन्तर्गत, ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेमा आज कारोबार भएका व्यापार बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेकाले बजारमा सुधार देखिएको हो । जलविद्युत कम्पनी समूहको उपसूचक सर्वाधिक ३ दशमलव ६ प्रतिशतले बढेको छ । यस्तै, जीवन बीमाको २ दशमलव ६७ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ८८ र वित्त कम्पनी समूहको उपसूचक २ दशमलव ५ प्रतिशतले बढेको छ ।

यस दिन प्रिमियर लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । प्रभु बैंकको १६ करोड ८ लाख, अपर तामाकोशीको १५ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार