देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्से ५६ अंकले उकालो लाग्यो, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

0

काठमाडौं – कारोबारको दोस्रो दिन सोमबार धितोपत्र बजार २ दशमलव ८२ प्रतिशतले उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ५६ दशमलव ७२ अंकले बढेर २ हजार ६७ दशमलव १७ बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा साढे दुई अर्ब रुपैयाँ बढीले वृद्धि भएको छ । कारोबारको पहिलो दिन हिजो ४६ दशमलव ४३ अंकले बढेर दुई हजार १० दशमलव ४५ बिन्दुमा पुगेर बन्द भएको नेप्सेमा ४ अर्ब ८९ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बजार पुन: उकालो लाग्न थालेपछि लगानीकर्ताहरु पनि उत्साहित हुन थालेका छन् । नेप्सेमा आज कुल २ सय २ कम्पनीका ५७ हजार ८७ करोबारबाट एक करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर किनबचे भए ।जसअन्तर्गत, ७ अर्ब २० करोड ४१ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन १० कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ। यस दिन प्राइम लाइफ, ग्लोबल आइएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ, स्वाभिमान लघुवित्त, महुली सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, सर्पोट माइक्रोफाइनान्स र लक्ष्मी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

नेप्सेमा सोमबार कारोबार भएका जलविद्युत बाहेक बाँकी सबै कम्पनी समूहका उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३ सय ७९ दशमलव १४ अंकले बढेको छ । नेप्सेमा आज कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो ।

सो कम्पनीको ७४ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ४६ करोड रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार