देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नौ महिनामा २२ गैंडा मरे, गणनाको तयारी अन्तिम चरणमा

0

(चितवन) – चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढ्दै गएको छ । गत साउनदेखि हालसम्म २२ वटा गैंडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लोपटक गत मंगलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैंडाको हाडखोर मात्र भेटिएको छ । यसअघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैंडा मरेका थिए ।

विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैंडा मर्ने गरेका छन् । गैंडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले समिति बनाएर मृत्युको कारण अध्ययन गरिरहेको छ । केही वर्षयता चोरी शिकारीबाट गैंडा मारिएका छैनन् । तर, प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ताको रुपमा हेरिएको छ ।

गत आर्थिक वर्षमा ४३ गैंडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४/०७५ मा २६ र २०७/र०७४ मा २५ गैंडा सोही कारणले मरेका थिए । सामान्यतया पाँच प्रतिशत गैंडाको मृत्युलाई सामान्य मानिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैंडा थिए ।

गैंडा गणनाको तयारी :
दुर्लभ एक सिङ्गे गैंडाको गणना गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको निकुञ्जले जनाएको छ । यही चैत १० गतेबाट चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु हुँदैछ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरण र दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ ।

चारवटा निकुञ्जमा गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा गणनाका लागि ३५ हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ । प्रत्यक्ष रुपमा गणना गरिँदै छ । २० दिनमा गणना गरिसक्ने योजना रहेको जनाइएको छ । गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत उप्रेतीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रबाट गणना गरिनेछ ।

विगतका वर्षहरुमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा गणनाका लागि एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको छ । बाढीले गैंडा बगाएपछि गत वर्षनै गैंडाको सङ्ख्या पत्तालगाउन गणना गर्ने तयारी गरिएको भएपनि बजेट अभावमा हुन सकेको थिएन ।

हरेक पाँच पाँच वर्षमा गैंडा गणना गरिँदै आएको छ । यसअघि सन् २०१५ मा गणना गर्दा ६४५ गैंडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । तीमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )