देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘परमादेश दिने पाँचैजनाले राजीनामा दिनुपर्छ’- ओली

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बदर गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

ओलीले मंगलबार एमालेको पालिकास्तरको अधिवेशन उद्घाटनका क्रममा प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गत असार २८ गते परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन्।

मुलुकका ७५३ पालिकामा मंगलबार एमाले अधिवेशन सुरु भएको छ। भर्चुअल माध्यममार्फत केन्द्रीय कार्यालयबाट अधिवेशन उद्घाटन गरेपछि कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘अहिले न्यायपालिकामा तमासा देखिएको छ।

सर्वोच्च अदालतमा हजारौं मुद्दा टुंगिन सकेका छैनन्। श्रीमान् न्यायाधीशहरू कसले केके गरेका थिए, अहिले आफैंले उधिन्न थालेका छन्। सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले परमादेश जारी गरेका थिए।एकजना (प्रधानन्यायाधीश) को मात्रै किन राजीनामा माग्नु? पाँचै जनाले राजीनामा दिँदा उपयुक्त हुन्छ।’

ओलीले सर्वोच्च अदालतको उक्त परमादेशबाट देशमा तमासा भइरहेको बताए। ‘सर्वोच्चको परमादेशबाट अहिले सुगन्ध या दुर्गन्ध के फैलिएको हो, म केही पनि भन्दिनँ, अहिले अदालतलाई तमासाको थलो बनाइएको छ। न्यायपालिकालाई त्यस्तो बनाउनु हुँदैन,’ उनले भने।

ओलीले जेठ ८ मा दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन असंवैधानिक भएको ठहरसहित पुनर्स्थापना गरेको थियो। पुनर्स्थापना सँगै सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए।

पालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले संसद्को नेतृत्व पनि ठीक नभएको बताए। सभामुख नै एमालेविरुद्ध नांगो ढंगले षड्यन्त्रमा उत्रिएको आरोप उनले लगाए। ‘सभामुखले नेकपा एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई एमालेविरुद्धका गतिविधि गर्न सहज बनाएका कारण व्यवस्थापिका प्रभावकारी ढंगले अघि बढन नसकेको, निष्प्रभावी र पक्षपातपूर्ण भएको छ’, उनले भने। उनले कार्यकर्तालाई सकेसम्म पालिकामा सर्वसम्मत नेतृत्वव चयन गर्नसमेत निर्देशन दिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार