देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पशुपतिमा शिवरात्रिको भव्य तयारी

0

काठमाडौँ – महाशिवरात्रि पर्व भव्यताकासाथ मनाउन पशुपतिनाथ क्षेत्रपरिसर झकिझकाउ पारिएको छ ।आगामी मंगलबार परेको महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्ने दर्शनार्थी को चहलपहल पशुपति क्षेत्रमा निकै बढिसकेको छ ।

कोरोना संक्रमणविरुद्धको स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार पशुपति क्षेत्र विकास कोषले यसपटक शिवरात्रिमा भेला हुनेलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको कोषले जनाएको छ ।

कोषका अनुसार मन्दिर दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको छ । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ । अर्को लाइन मित्रपार्क जयबागेश्वरी, इटापाखा भएर भुवनेश्वरीस्थित फलामको ढोका हुँदै पश्चिम ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । बत्तीसपुतली, गौशाला, एयरपोर्ट, तिलगंगा भएर आउने भक्तजनका लागि चार शिवालय हुँदै प्रवेश गर्ने व्यवस्था छ ।

यातायात व्यवस्थापनका लागि ५ ठाउँमा पार्किङ हुनेछ । तिलगंगा, पशुपति क्षेत्र विकास कोष कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा गाडी पार्किङ छुट्याइएको छ । सवारी चापलाई ध्यानमा राखेर एयरपोर्ट–चाबहिल सडकको आधा भागमा सवारी चलाउन दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था गरिनेछ ।

यस्तै यसपटक निःशुल्क भोजनका लागि ९५ वटा संघसंस्थाले अनुमति लिएका छन् । उनीहरूले भोजन, पानी, चिया वितरण गर्नेछन् । आवास, भोजन वितरण गर्ने संस्थाले आफ्नो स्टलमा डस्टबिन राख्न अनिवार्य गरिएको छ । प्लास्टिकको कप प्रयोग गर्न निषेध गरिएको छ । साधुसन्तका लागि भोजन, आवाससँगै धुनीको पनि व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार