देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पहिरो पीडितको पुर्नस्थापना बारे सभामुख–गृहमन्त्रीबीच छलफल

0

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाबादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनस्र्थापनाका विषयमा छलफल भएको छ ।

आइतबार सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सय भन्दा बढी घरपरिवार विस्थापित भएकोले उनीहरुलाई पुनस्र्थापित गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनले २०७१ साउन १७ गते गएको जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणको लागि निर्णय गर्न भइरहेको ढिलाइबारे चासो राखेका थिए ।

गृहमन्त्री थापाले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र विस्थापितको पुनस्र्थापनाका लागि छिटो भन्दा छिटो काम थालिने जानकारी दिए । साथै, गृहमन्त्री थापाले जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट उठेको रकम वितरण सम्बन्धी निर्णयका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

यही साउन ३० गते सिन्धुपाल्चोकको जुुगलगाउँपालिका–२ लिदिमा गएको पहिरोमा परेका ३९ जना मध्ये आइतबार साँझसम्म १९ जनाको शव फेला परेको छ ।

गत असार २४ गते राति गएको पहिरोमा परी बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको बुल्कुटे, असार ३१ गते बिहान खसेको पहिरोले भोटेकोशी गाउँपालिकाको फुल्पिङमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

आजै सभामुख सापकोटाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत सुशील ज्ञवालीसँग जोखिममा रहेका सिन्धुपाल्चोकका लिदि, नाम्फा लगायतका बस्ती स्थानान्तरणको काम थाल्ने बारे छलफल गरेका थिए ।

प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत ज्ञवालीले स्थलगत अध्ययनका लागि भूगर्भविद् सहितको टोली पठाई विस्थापितको पुनस्र्थापना एवं बस्ती स्थानान्तरण सम्बन्धमा प्रतिवेदन तयार गर्ने योजना बनाइसकिएको र छिट्टै प्रभावित क्षेत्रमा पठाइने जानकारी गराएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार