देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पारस टिम आबुधाबीको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’

0

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का टी–१० लिगमा मेन्टरका रुपमा नियुक्त भएका छन् । टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको हो ।

टिम आबुधाबीले सामाजिक सञ्जालमार्फत पारस खड्कालाई मेन्टरमा नियुक्त गरिएको जानकारी दिँदै एसोसियटतर्फ दशककै उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा परेकोमा बधाई दिएको छ ।

अघिल्लो सिजन टिम आबुधाबीबाटै टी–१० लिग खेलेका पारसले यस वर्ष भने कोचिङ टिममा जिम्मेवारी पाएका हुन् । यस वर्ष उनले युवा खेलाडीलाई मेन्टरको रुपमा प्रशिक्षण दिने भएका छन् । टिम आबुधाबीमा क्रिस मोरिस, रोहन मुस्तफा, ल्युक राइट, अविष्का फर्नान्डो लगायत खेलाडी रहेका छन् ।

नयाँ भूमिका पाएपछि पारसले शनिबार बिहान ट्वीट गर्दै यसबाट आफू उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताएका छन् ।

अब हुने टी-१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ ।

टी–१० लिग नोभेम्बर १८ बाट सुरु हुने तय भए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । नयाँ तालिका अनुसार आगामी जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार