देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखराका सहकारी पीडित आन्दोलित, प्रधानमन्त्री र गृहमन्त्रीमाथि छानबिन गर्न माग

0

काठमाडौं -पाेखराका सहकारी पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतमाथि छानबिन गर्नुपर्ने माग गर्दै आन्दाेलन घाेषणा गरेका छन्।

उनीहरूले आइतबार पोखरामा विरोध प्रदर्शन गर्ने भएका छन्। सरकारले समस्या समाधानका निम्ति पहल नगरेको गुनासो गर्दै उनीहरू  सडक आन्दोलनमा उत्रन लागेका हुन्।‍

संघको १, गण्डकी प्रदेश ३ र पोखरा कार्यक्षेत्र भएका ३ सहकारी गरी ७ सहकारीका गरी पोखराका करिब ४० हजार बचतकर्ताको झण्डै ७ अर्ब रुपैयाँ अपचलन भएको छ।

पोखरामा शनिबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आइतबार दिउँसो सडकमा विरोध प्रर्दशनसँगै कोणसभा गर्ने जनाएका छन्। सिर्जनाचोकदेखि १२ बजे सुरु हुने विरोध प्रदर्शन पृथ्वीचोकसम्म पुगेर कोणसभा गर्ने सहकारी बचतपीडित संघर्ष समिति कास्की संयोजक किरण श्रेष्ठले बताए।

उनका अनुसार शिवशिखर, मित्रमिलन, विन्दवासिनी, प्राइम, सूर्यदर्शन, इमेज, बलिदानी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना पारेका हुन्। ती सहकारीमध्ये पोखरामा शाखा कार्यालय रहेको शिवशिखर केन्द्रमा प्रधानकार्यालय रहेको सहकारी हो।

पोखरा महानगरपालिकामा कार्यक्षेत्र भएका सहकारीमा मित्रमिलन, विन्दवासिनी र प्राइम हुन्। अन्य गण्डकी प्रदेश कार्यक्षेत्र भएका हुन्। संघर्ष समिति संयोजक श्रेष्ठले सहकारीपीडितलाई राहत मिल्ने कार्यक्रम सरकारले नल्याएका गुनासो गर्दै आन्दोलन चर्काउने चेतावनी दिए।

राज्यसँगै प्रहरी प्रशासनसमेत पीडितको विपक्षमा उभिएको उनको आरोप छ। गोर्खा मिडियामा तत्कालीन प्रबन्ध निर्देशक रहेका हालका गृहमन्त्री रवि लामिछाने यस विषयमा चुप बसेको पीडितको आरोप छ।

पूरक जाहेरीमा लामिछानेको समेत नाम दिइए पनि पक्राउ नगरिएको बताए। उनले भने,‘जाहेरी कतै छैन भनेर हल्ला भइरहेको छ। हामीले प्रहरीलाई बुझाएकै हो। ताम्रपत्रमा लेखेर दिनुपर्ने हो र? कागजमै लेखेर दिएका हौं त।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार