देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्न समिति गठन

0

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।

प्राधिकरणका एयर ट्राफिक सर्भिस अफिसर अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरी छानबिन समिति गठन गरेको हो ।

समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिएको प्राधिकरणले जनाएको छ । यही मङ्सिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटना हुँदा टेन्डम पाइलटको ज्यान गएको थियो ।

प्राधिकरणले नेपाल हवाई खेलकुद संस्था (एनएए)लाई पनि दुर्घटनाका बारेमा जवाफ मागेको थियो । झण्डै दुई दशकदेखि प्याराग्लाइडिङको क्षेत्रमा क्रियाशील रहेको एनएएले पछिल्लो दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्ष सहितको प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ ।

एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले उक्त दुर्घटनाका विभिन्न पक्षको प्रक्रियागत अध्ययन गरी बुझाएको प्रतिवेदनको अन्तिम निष्कर्षमा ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधि मध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पिडमा झरी दुर्घटना भएको’ उल्लेख गरिएको छ ।

त्यसैगरी प्राधिकरणबाट आठजना प्यारा पाइलटहरु नियम विपरीतको गतिविधिमा संलग्न भएको भन्ने पत्र संस्थामा आएको पराजुलीले जानकारी दिए । नागरिक उडड्यन प्राधिकरणअन्तर्गत छानबिन समितिका सदस्यसचिव सुवेदीले उडानको समयमा नियम विपरीतका गतिविधिमा संलग्न केही पाइलट छानबिनमा तानिएको बताए ।

प्राधिकरण अन्तर्गत दुर्घटनाको छानबिनसँगै नियम विपरीतका गतिविधि भइरहेको सन्दर्भमा पनि छानबिन भइरहेको छ । सुवेदीले छानबिनमा भएका पाइलटले तत्काल उडान गर्न नमिल्ने जनाउँदै कस्तो खालको कार्वाही हुन्छ भन्ने प्रतिवेदन सार्वजनिक पछि मात्र थाहा हुने बताए । उनका अनुसार प्राधिकरणले आगामी पुसको १० गते प्रतिवेदन सार्वजनिक गर्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार