देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखरियाका मेयर रौनियार कांग्रेसमा प्रवेश

0

काठमाडौं – पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियार कांग्रेसमा प्रवेश गरेका हुन् ।

बिहीबार वीरगञ्ज पुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका र माला लगाएर  मेयर रौनियरलाई पार्टी प्रवेश गराएका हुन् ।

पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली जनता दलबाट ३ हजार २६ मत प्राप्त गरेर उनी नगरप्रमुखमा निर्वाचित भएका थिए ।

वीरगञ्जमा आयोजित कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरूलाई चिड्याउने कुरा नगर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल हुन्छ। सबैको सहयोगमा अगाडि जानुपर्छ,’ उनले भने, ‘तपाईंहरूलाई थाहा छ, एक्लै चुनावमा जाँदा हाम्रो अवस्था के थियो? धेरै ठाउँ हारिएको थियो। मिलेर चुनाव लगेको अवस्थामा स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म भोलि सरकार बनाउने स्थिति बन्न सक्छ।’

‘गठबन्धनका साथीहरूको सहयोगले यो सरकार बनेको हो। म प्रधानमन्त्री बनेको छु,’ उनले भने, ‘जिल्ला, गाउँमा केही समस्या होलान्। बसेर कुराकानी गर्ने हो। उहाँहरू पनि बुझ्ने नेताहरू हुनुहुन्छ। हाम्रा साथीले पनि कुरा बुझ्नुपर्छ।’

उनले गठबन्धन र विपक्षी एमालेलाई पनि चिड्याउने कुरा नगर्न आग्रह गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार