देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पौडेल-सिटौला भेट्दै, देउवालाई विरोध पत्र दिने तयारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाण्डौं – नेपाली कांग्रेसमा आन्तरिक विवाद झन् बढ्दै गएको छ। सभापति शेरबहादुर देउवाले एकलौटी हिसावले विभागलगायतमा गरेका मनोनयन खारेज गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।

उनीहरूले असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा देउवाका कार्यशैलीविरूद्ध हस्ताक्षर बुझाउनेसमेत तयारी गरेका छन्। शनिबार बसुन्धरामा पौडेल पक्षका केन्द्रीय सदस्यहरूले बैठकले आइतबार सभापति देउवालाई केन्द्रीय कार्यालयमार्फत् विरोध पत्र बुझाउने निर्णयसमेत गरेको छ ।

त्यसका लागि सिटौला आज आइतबार बिहान ९ बजे पौडेल निवास बोहराटार जाँदैछन्। शनिबार पौडेल पक्षका भेलामा सिटौला पक्षका केन्द्रीय सदस्य उपस्थित नभए पनि टेलिफोनबाट कुराकानी भएको थियो। सिटौला र उमाकान्त चौधरीले बैठक चल्दै गर्दा टेलिफोन गरेका थिए।

पौडेल पक्षको भेलामा केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, शेखर कोइराला, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, गुरू घिमिरे, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, दीपक गिरीलगायत उपस्थित बैठकमा सहभागी एक नेताले बताए ।

सभापति देउवाले महाधिवेशन सकेको छ महिनाभित्र गरिसक्नुपर्ने विभागलगायतको मनोनयन १४ औं महाधिवेशनको मुखमा धमाधम गरेपछि पौडेल र सिटौला पक्षले महाधिवेशनकै निष्पक्षतामा प्रश्न उठाएका छन्।

सभापति देउवा समूहले भने विधानअनुसार विभाग गठन गरिएको बताउने गरेको छ। विभाग गठनमा ढिलाइ भए पनि त्यो विधानविपरीत भन्न नमिल्ने तर्क उनीहरूको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार