देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्याज खरिदमा ठगिए मन्त्री भट्ट

0

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेको उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो।

साधारण वेषभूषा र मास्क लगाएर अनुगमनमा निस्किएका भट्टलाई अधिकांश व्यापारीले चिनेनन्। अनुगमनका क्रममा बढी मूल्य लिएको, प्याज लुकाएको, नचिनेका उपभोक्तालाई छैन भनेर फर्काएको अभियोगमा ७ वटा पसल सिल गरिएको थियो। बल्खु बजारको थोक बिक्रेता एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनील केसीलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ ।

बल्खु बजारकै २ पसलबाट २ सय ४० बोरा प्याज सिल गरिएको थियो। मन्त्री भट्ट नेतृत्वको अनुगमन टोलीले थप कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाएको छ। अनुगमनका क्रममा बल्खु बजारका ४ व्यापारीसँग स्पष्टीकरण सोधिएको छ। यसअघि कालीमाटी बजारका ३ जना व्यापारीसँग मंगलबार स्पष्टीकरण सोधिएको थियो।

दक्षिण भारतमा ठूलो पानी परेका कारण उत्पादन घटेको र उत्पादित प्याज पनि गलेर नष्ट भएका कारण भारतले आफ्नो बजारलाई नियन्त्रणमा राख्न निर्यात रोकेको हो। पानी परेका कारण भारतको आन्ध्र प्रदेश, कर्नाटक, दक्षिण भारतलगायत स्थानका प्याजको उत्पादनमा असर पुगेको छ।

नेपालमा खपत हुने प्याजको कुल मागमध्ये झन्डै ९८ प्रतिशत भारतबाटै आयात हुन्छ। व्यापारीले अघिल्लो साता सस्तो मूल्यमा आयात गरेको प्याज अत्यधिक मूल्यमा बिक्री गर्न थालेका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार