देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा,सरकार ढल्ने निश्चित

0

मोरङ –  प्रदेश नं १ सरकारका नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।

दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आज(आइतबार) मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

मन्त्री पदबाट बर्खास्त भएका आङबोले आफ्ना पक्षका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने निर्णय गरेको तर मुख्यमन्त्रीले आफैं पदबाट हटाएर अविश्वासको प्रस्ताव दर्ता गराउन मार्ग प्रशस्त गरिदिएको बताए । उनले आइतबार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी भइसकेको बताए ।

प्रदेश १ सभामा रहेको ९३ सदस्यमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना प्रदेशसभा सदस्य छन् । नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ प्रदेशसभा सदस्य हुन् ।

मुख्यमन्त्री राईको सरकार ढालेर नयाँ सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक हुन्छ । दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री राईसँग २० जना मात्रै प्रदेशसभा सदस्य रहने दाबी गरेका छन् भने मुख्यमन्त्री राई पक्षधर सांसदहरुले तत्कालीन एमालेका ३५ जनाभन्दा बढी प्रदेशसभा सदस्य आफूहरुसँग रहने दाबी गरिरहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार