देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश २ सरकारको गैरजिम्मेवारीले कोरोनाको महामारी फैलियो – नेकपा

0

नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नं २ को लालबाबु राउत नेतृत्वको सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न उदासीन र गैरजिम्मेवार भएको आरोप लगाएको छ । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले आज (शुक्रबार) एक प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रणमा प्रदेश २ सरकारको गैरजिम्मेवारीपूर्ण, उदासीन र चरम लापरवाहीका कारण सिंगो प्रदेश सन्त्रासमा रहेको आरोप लगाएका छन् ।

‘समान्यतया कुनै पनि प्रकारको महासंकट र महाविपत्तिको सामना गर्न संघीय मुलुकमा संघले नीति निर्माण एवं निर्देशनात्मक कार्य गर्दछ भने, प्रदेश सरकार अग्रभागमा रहेर दृढता एवं तदारुकताका साथ आफ्नो कामकार्वाही तथा जिम्मेवारी निरन्तर बहन गर्नुपर्ने हो । तर २ नबर प्रदेश सरकार गैरजिम्मेवार बनेका कारण आज सिङ्गो प्रदेशको यो हविगत देख्न तपाई–हामी बाध्य भएका छौं’ नेकपा प्रदेश २ ले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अहिले देशभरमा भेटिएका २५८ जना कोरोना संक्रमितमध्ये लगभग अधिकांश २ नंबर प्रदेशकै हुनु गम्भीर चिन्ताको विषय भएको नेकपा प्रदेश २ ले जनाएको छ ।

यस्तै लकडाउन अझ पनि लम्बिने सम्भावना प्रवल नै रहेकाले भारत लगायत अन्य देशमा  रोजगारी र अध्ययनका लागि गएका नेपाली नागरिकहरुमध्ये अहिले स्वदेश फर्कन इच्छुकहरुलाई एकीन गरी वैध, व्यवस्थित तथा सुरक्षित तवरले स्वदेश फिर्ता बोलाउने वातावरण तत्काल तयार गर्न संघीय सरकारको नेकपाले गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंकटको यस चुनौतीपूर्ण समयमा जोखिम न्यूनीकरणको प्रमुख आधार सामाजिक दूरी कायम गर्दै स्वयंसेवी भूमिकासहित समाजमा सचेतना फैलाउने र आफूभन्दा असहाय, गरीब–विपन्न, ज्याला–मजदूरी गर्ने तथा जरुरतमन्दहरुलाई आवश्यक सहयोग गर्ने लगायतका सामाजिक कार्यहरुमा सक्रिय रहन पार्टी पंक्तिका सम्पूर्ण सदस्यहरुलाई नेकपा प्रदेश २ ले बिशेष आग्रह गरेको छ ।

यसैगरी विश्वसँगै नेपालमा पनि महाविपत्तिको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमयुक्त अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकहरुप्रति नेकपाले उच्च सम्मान, संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना र ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार