देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानन्यायाधीश जबराको सम्पत्ति अनुसन्धान गर्न शुद्धीकरणले तोक्यो दुई अनुसन्धान अधिकृत

0

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति अनुसन्धान गर्न दुई अनुसन्धान अधिकृत तोकेको छ । विभागले उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकेको हो ।

जबराले अकुत सम्पत्ति आर्जन गरेको भन्दै नागरिक अगुवाहरूले छानबिन माग गरेर आइतबार विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए । डा. गोविन्द केसीको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाएका नागरिक अगुवाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सम्बद्ध कसुर मानेका गैरकानुनी गतिविधिमा जबरा संलग्न भएको आरोप लगाएका छन् ।

जबराले आफूसहित श्रीमती, भाइ, परिवारका अन्य सदस्य तथा नातेदारमार्फत बिचौलियाको काम गराएको, उनीहरूको नाममा सम्पत्ति लुकाएको र गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेकाले उनीमाथि छानबिन हुनुपर्ने नागरिक अगुवाहरूको माग छ ।

अनुसन्धान टोलीले प्रारम्भिक चरणमा सूचना संकलन गर्ने छ । प्राप्त सूचनाका आधारमा परिवारका सदस्य, नातेदार तथा सम्बद्ध व्यक्तिहरूमाथि बयान हुने विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराईले जानकारी दिए  । ‘टोलीले छानबिनका क्रममा आवश्यक सहयोग माग्न सक्छ, तर आफ्नो तरिकाले अनुसन्धानका लागि स्वतन्त्र छ,’ उनले भने ।

भट्टराईका अनुसार अनुसन्धान प्रयोजनका लागि आवश्यक परे विभागले अन्तरनिकाय सहयोग पनि लिन सक्छ । सम्पत्ति परिचालन तथा व्यवस्थापन हुने बैंक तथा वित्तीय संस्था, घरजग्गा, सुनचाँदीलगायत क्षेत्रहरूमा तत्तत् क्षेत्र हेर्ने निकायहरूबाट विभागले सहयोग लिनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार