देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री ‘डिफेन्सीफ’ : तपाईँहरुले बलिङ गरिसकेपछि अलिअलि ब्याटिङ त गर्नैपर्यो नि

0

मध्यबिन्दु/काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार र सञ्चारमाध्यमप्रति गुनासो गर्दै बोलेका केही वाक्यांश निकै  चर्चाको विषय बन्यो । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गत पुस २९ गते नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँगको भेटमा ‘सरकारले गरेका राम्रा कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन्’ भनेका थिए । “हामीले काम गरेका छौँ । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने प्रशारण गर्ने टेलिभिजन छैन्  । त्यस्ता कामको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन्,” उनले भनेका थिए ।

प्रायः विपक्षीहरुको कटाक्षमा आक्रामक रुपमा प्रस्तुत हुने प्रधानमन्त्री हिजो मंगलबार भने पत्रकारहरुसँग निकै नरम शैलीमा प्रस्तुत भए । लामो समयपछि बालुवाटारस्थित निवासमा प्रेससँगको प्रत्यक्ष अन्तरक्रियामा उनी डिफेन्सीफ देखिन्थे । सरकारको कामको प्रसंसा गर्न सक्ने पत्रकार छैनन् भनेर आलोचित भएका उनी आफ्नो अभिव्यक्तिको बचाउमा लागेका देखिए ।

‘तपाईँहरुले हामीलाई गोदिरहँदा हामीले पनि ठीक छ, ठीक भनिरहनु पनि हुँदैन नि । तपाईँहरुले बलिङ गरिसकेपछि अलिअलि ब्याटिङ त गर्नुपर्छ नि !’ उनले भने, ‘तपाईँहरु बलिङ दिएकोदेही गर्ने अनि मैले एक ब्याटिङ दिँदा चाहिँ रिसाउनु भएन ।’
बलिङ र ब्याटिङको कुरा गर्दै ओलीले बालुवाटारमा सम्पादकहरुको आक्रामक बलिङमा रक्षात्मक व्याटिङ गरेको टिप्पणी गरेका छन् ।

 

‘पूरै कार्यकाल सरकार चलाउँछु’
प्रधानमन्त्री ओलीले बाँकी तीन वर्ष पनि आफैंले सरकार चलाउने स्पष्ट पारेका छन् । पार्टी एकता हुँदा दुई अध्यक्षबीच आलोपालो सरकार चलाउने ‘सहमति’ भए पनि बाँकी कार्यकाल पनि आफैंले चलाउने विषयमा पार्टीमा कुनै विमती नरहेको दाबी गरे । ‘पहिला त मैले प्रचण्डजीलाई भनेको थिएँ, के भयो र आलोपालो गरौंला ? आधा म चलाउँला, आधा तपाईं चलाउनुहोला,’ओलीले भने, ‘उहाँले अस्ति भर्खर भन्नुभयो कि यो त अस्थिर हुन्छ । उहाँकै प्रस्तावमा यो आलोपालो हटाइदियौं । अब निरन्तर बाँकी अवधि मैले लाने भन्ने विधिवत् निर्णय गर्याैं ।’
पार्टीभित्र विभिन्न कोणबाट छलफल हुनु स्वभाविक भएको भन्दै उनले पार्टीमा विवाद रहेको भन्ने बुझेर भ्रममा नपर्न आग्रह समेत गरे ।

 

यतिलाई कानुनअनुसार नै जग्गा भाडामा दिएको दाबी’
सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले यति होल्डिङलाई लिजमा दिइएको सरकारी जग्गा प्रक्रिया पुर्याएरै दिइको दाबी गरे । यतिलाई जग्गा आफूभन्दा अघिल्लो सरकारले नै गरेको उल्लेख गर्दै उनले यसमा कुनै घोटाला नभएको दाबी गरे । ‘यति होल्डिङलाई जग्गा दिने काम म भन्दा अघिल्लो सरकारले नै गरेको हो,’ उनले भने, ‘तर अहिले कुरा उठेपछि मैले हेर्दा विधि प्रक्रिया नै पुर्याएर गरेको रहेछ । त्यो छानबिन गर्दा पनि ठीकै छ । यसमा कुनै घोटाला भएको मलाई विश्वास छैन ।’

अन्य सरकारको सम्बन्धमा जे भए पनि आफूले भ्रष्टाचार नगर्ने भन्दै उनले आफ्नो विषयमा कुनै प्रश्न नउठ्ने विश्वास व्यक्त गरे । ‘मैले घोटाला गर्छु या मैले भ्रष्टाचार गर्छु भन्नेचाहिँ कमसेकम साथीहरुले ठान्नु हुन्न होला भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘जुन कमिटमेन्ट छ त्यसमा शंका गर्नुहुन्न भन्ने म ठान्छु । जुनसुकै सरकारको सम्बन्धमा जेसुकै होस् मेरो सम्बन्धमा प्रश्न उठ्दैन भन्ने मेरो विश्वास छ ।’

 

एमसीसी छिट्टै संसदबाट पारित हुने दाबी
प्रधानमन्त्री ओलीले एमसीसीको अमेरिकी इन्डो प्यासिफिक रणनीतिसँग कुनै सम्बन्ध नभएको दाबी गर्दै यसका विषयमा कुनै शंका नगर्न आग्रह गरे । यो विभिन्न चरण पार गर्दै अहिलेको अवस्थमा आइपुगेको भन्दै उनले एमसीसी छिट्टै संसदबाट पारित हुने बताए । यसबारे पार्टीमा प्रश्न उठेपछि कार्यदल बनाइएको भन्दै १० दिनभित्र कार्यदलले अध्ययन गरी रिपोर्ट तयार गर्ने उल्लेख गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार